विलासिता वस्तु आयातमा रोक लगाउन राष्ट्र बैंकको सुझाव

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले विलासिता बस्तु आयातमा रोक लगाउन सुझाव दिएको छ। व्यापार घाटालाई कम गर्न विलासिता र अनावश्यक बस्तुहरुको आयातमा रोक लगाउने तथा आयात प्रतिस्थापनका लागि संचालनमा आएका व्यवसायलाई कर्जा प्रवाह गर्ने नीति लिइएको गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्। गभर्नर अधिकारीले मुलुकमा विद्यमान व्यापार घाटालाई कम गर्न विलासितालगायतका बस्तुहरुको आयातमा रोक लगाउनेगरी  मौद्रिक नीति पनि केन्द्रित हुने बताए। राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म समीक्षा अवधिको तुलनामा कुल ब्यापार घाटा २४.६ प्रतिशतले बढेको छ। त्यस्तै शोधनान्तर स्थिति १५ अर्ब १५ करोडले घाटामा गएको छ। सरकार परिवर्तन भएकाले नयाँ सरकारको बजेटको आकार, प्राथमिकता र प्रक्षेपण हेरेर मात्रै चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने अवस्था रहेको उनले प्रष्ट्याए। बुधबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले भने ‘सरकार परिवर्तन भइसकेपछि नयाँ सरकारको प्राथमिकता र प्रक्षेपणलाई हेरेर मौद्रिक नीति ल्याउनुपर्ने भएकाले त्यसलाई पर्खेर बसेका छौँ।’  गभर्नर अधिकारीले मौद्रिक नीतिको तयारी भने लगभग पूरा भएको पनि बताए। तर सरकार परिवर्तन भएकाले नयाँ सरकारको योजना र प्राथमिकता हेरेर मात्रै त्यसलाई अन्तिम रुप लिन सकिने उनको तर्क छ। नेपाल राष्ट्र बैंकले यस वर्षको मौद्रिक नीतिले पनि कोरोना प्रभावित क्षेत्र र व्यवसायीहरुलाई सहुलियत दिने कामलाई निरन्तरता दिने अवस्था रहेको जनाएको छ। कोरोनोको तेस्रो लहरसमेत आउने अवस्था रहेकाले कोरोनाको रोकथाम, नियन्त्रण र व्यवसाय टिकाउनका लागि सरकारले सहुलियत दरमा ऋण दिने कामलाई नै प्राथमिकता दिने अवस्था अहिले नै कायमै रहेको गभर्नर अधिकारीले बताए। बैठकमा समितिका सदस्यहरुले व्यापार घाटा बढदो अवस्थामा रहेकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई न्यूनीकरण गर्दै लैजाने उपायको खोजी गर्न नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए। समितिका सदस्य एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले व्यापार घाटा कम गर्न विलासिताका बस्तुहरुको आयातमा रोक लगाउन सचेत गराए। समितिका सभापति कृष्णप्रसाद दाहालले एक करोडभन्दा माथिका ऋणीहरुलाई ब्याजदरमा सहुलियत नदिएर भएपनि मुलुकको अर्थतन्त्र सुदृढ गराउने गरी मौद्रिक नीति ल्याउन राष्ट्र बैंकको ध्यानाकर्षण गराए। उनले ठूला उद्योगीहरुलाई सहुलियत दरको व्याजमा कर्जा प्रवाह गर्दा मुलुकको अर्थतन्त्र धरासायी हुने अवस्था रहेको पनि बताए। समितिको बैैठकमा गभर्नर अधिकारीले कोरोनाका कारण धेरै फरक पारेर मौद्रिक नीति ल्याउन सकिने अवस्था नरहेको समितिको बैठकमा पटक पटक दोहोर्‍याए। उनले कृषि, पर्यटन र मनोरञ्जन क्षेत्रलाई टिकाई राख्न पनि सरकारले सहुलियत दरमा कर्जा प्रवाह गर्नुुपर्ने अवस्था रहेको बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्