अर्थ राजनीति ~ डा. गोविन्द केसीले बीपी प्रतिष्ठानका चारै शीर्ष पदाधिकारीहरुलाई तत्काल राजीनमा दिन माग गर्नुभएको छ । चारै शीर्ष पदाधिकारीले एक मिनेट पनि पदमा रहने नैतिकता र वैधता गुमाइसकेकाले तत्काल राजीनमा दिन माग गर्नुभएको हो । शुक्रबार एक विज्ञप्ति जारी गर्दै केसीले ओली सरकारले देश जसरी चलाए जसरी बीपी प्रतिष्ठानका पदाधिकारीले पनि संस्थालाई उसरी नै चलाएर बर्बादीतिर धकेलिरहेको आरोप लगाउनुभयो । ओली सरकारद्वारा नियुक्त उपकुलपति ज्ञानेन्द्र गिरीलगायत हाल प्रतिष्ठानको शीर्ष नेतृत्वमा रहेका रेक्टर, रजिस्ट्रार र अस्पताल निर्देशकका भ्रष्ट करतुतहरु निरन्तर मिडियामा आइरहेको केसीले बताउनुभयो । दलीय वफादारिता नभई वरिष्ठता, इमान्दारी र योग्यताका वस्तुगत आधारमा नयाँ पदाधिकारी नियुक्त गर्नसमेत माग गर्नुभएको छ । अहिले बीपी प्रतिष्ठानलाई डुबाएर आफ्ना कार्यकर्ताको अस्पताललाई अवैध रुपमा मेडिकल कलेजको सम्बन्धन दिन प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तर नाजायज दबाब दिइरहेको पनि केसीले आरोप लगाउनुभयो ।