अर्थ राजनीति ~ सरकारले लकडाउनलाई आफ्नो सत्ता जोगाउने सुरक्षा कवचको रूपमा प्रयोग गरेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ । बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकबारे जानकारी गराउँदै नेपाली कांगेसका नेता प्रकाश शरण महतले सरकारकै उदासिनता र अर्कमण्यताको कारणले कोभिड–१९को विस्तार भएको र लकडाउन गर्नुपर्ने स्थिति आएको भन्दै लकडाउनलाई सरकारले सत्ता जोगाउने सुरक्षा कवचको रूपमा प्रयोग गरिरहेको बताए । यसको नेपाली कांग्रेसको बैठकले निन्दा गरेको उनले बताए ।‘लकडाउनको अवस्थामा नागरिकहरूजति नै सरकारसँग असन्तष्ट भए पनि सडकमा निस्किन सक्ने अवस्था छैन, त्यसलाई उहाँहरूले आफ्नो सत्ता जोगाउने कवचको रूपमा लकडाउनलाई लिइरहनुभा’छ,। संक्रमणबाट उहाँहरू दुखी हुनुपर्ने, यसलाई कसरी चाँडोभन्दा चाँडो कम गर्ने, रोक्ने भन्ने ठाउँमा यसले सत्तामा हामी झन् सुरक्षित भयौँ । कोही विरोधमा निस्किन सक्दैन । बाहिर आउन मिल्दैन भनेर उहाँहरू यसमा सहज महशुस गरिरहनुभा’छ’ उनले भने ।
बैठकमा कांग्रेसको केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म गर्नेगरी प्रस्ताव पेश भएको छ भने स्थानीय तहको महाधिवेशन १२ साउनबाट गर्ने प्रस्ताव छ । यसबारे छलफल गरेर निष्कर्ष निकालिने नेता महतले बताए ।महाधिवेशनको सम्बन्धमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका नेता रमेश लेखकले क्रियाशील सदस्यता विवादकै कारणले महाधिवेशन प्रभावित नहुने बताए । उनले छिट्टै नै क्रियाशील सदस्यको सम्बन्धमा परेका उजुरीउपर छलफल गरेर अन्तिम नामावली निकालिने जानकारी दिए । उनले भने ‘६ गतेसम्म उजुरी दिन समय राखेका छौँ । गुनासाहरू आएका छन् । भोलिदेखि गुनासा र उजुरी हेरेर निष्कर्ष निकाल्छौँ । अन्तिम नामावली फाइनल गर्न लाग्छौँ ।’बैठकले सिन्धुपाल्चोकको बाढीको घटनामा दुःख प्रकट गर्दै तिनै तहको सरकारलाई पूर्ण प्राथमिकताका साथ उद्धार र राहतमा लाग्न पनि भनेको छ ।