आन्तरिक हवाई उडान खोल्ने सम्भावना अझ देखिएन

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल सरकारले अनिश्चितकालका लागि बन्द गरेको आन्तरिक हवाई उडान अन्यौलमा परेको छ । सरकारले उडान सञ्चालनमा ल्याउने सम्बन्धमा छलफल नै नगरेका कारण तत्काल उडान खोल्ने सम्भावना पनि छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यो विषयमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य मन्त्रालयबाट कुनै पनि सिफारिस आइसकेको छैन । पछिल्लो समय सरकारले काठमाडौं उपत्यकासहितका जिल्लामा घोषणा गरेको निषेधाज्ञाको समय सोमबार सकिँदै छ । उपत्यकामा आर्थिक गतिविधिहरु खुकुलो पारेर निषेधाज्ञा समेत थप गरिएको छ । तर, हवाई उडान के गर्ने भन्ने विषयमा भने अहिलेसम्म कुनै निर्णय भइसकेको छैन । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने, ‘हामीले यो बारे निर्णय लिन सक्दैनौं, सीसीएमसी र मन्त्रिपरिषद्को निर्णय कुर्दैछौं ।’ सरकारले वैशाख अन्तिम साता अर्को निर्णय नभएसम्मका लागि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको थियो । उता, लामो समय बन्द हुँदा हवाई यात्रुसँगै व्यवसायी समेत संकटमा पर्दै गएका छन् । व्यवसायीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि उडान संचालनको वातावरण बनाउन समेत सरकारसँग आहृवान गरेका छन् । उनीहरुले १ असारबाट उडान खोल्न माग गरेका छन् । वायुसेवा संचालकले पहिले निषेधाज्ञा अवधिभरका लागि नेपाल सरकारबाट प्राप्त सुविधा दोस्रो लहरको निषेधाज्ञामा समेत निरन्तरता दिन आहृवान गरेका छन् । अन्तराष्ट्रियतर्फ घटेको हवाई इन्धनको मूल्य आन्तरिकमा समेत कार्यान्वयनमा ल्याई यात्रुलाई सुविधा दिन व्यवसायीले सरकारको ध्यानाकर्षण गराएका छन् ।नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु समेत स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी उडान खोल्नु पर्ने पक्षमा छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्