राप्रपाका कमल थापाले भने– दुईवटा ‘अल्छी घोडा’ को चेपुवामा परियो !

Machchapuchchre

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र अन्तरविरोध चर्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै राप्रपाभित्र अन्तरविरोध चर्किएको हो । तीन अध्यक्ष रहेको राप्रपामा प्रधानमन्त्री ओलीबाट भएको प्रतिनिधिसभा विघटनलाई हेर्ने नजरदेखि सरकारमा सहभागी हुनेसम्मको विषयमा दुई धार देखापरेको छ । राप्रपामा कमल थापासहित डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा अध्यक्ष रहेका छन् । तीमध्ये कमल थापा एकातिर र लोहनी तथा राणा अर्को धारमा उभिएका छन् । विवाद सतहमै देखा पर्न थालेपछि पार्टीको एकता नै संकटमा पर्नसक्ने नेताहरुले बताउन थालेका छन् । लोहनी र राणाले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेकोप्रति विरोध गरेका छन् भने थापाले ताजा जनादेशमा जानुपर्ने बताउँदै ओली नेतृत्वको सरकारमा सहभागी हुन सकिने संकेत गरेका छन् । यही विषयमा पार्टीमा दुई धार हुँदा अध्यक्ष थापाले राणा र लोहनीलाई ‘अल्छी घोडा’को संज्ञा दिएका छन् । थापाले दुई वा दुई भन्दा बढी घोडाले तानेको रथ तीव्र गतिमा अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दै यो नैसर्गिक सत्य भएको बताएका छन् ।

पटक–पटक फुट्दै र जुट्दै आएको राप्रपाको पछिल्लो पटक १५ महिनाअघि एकता भएको थियो । राणा र लोहनीको राप्रपा संयुक्त र थापाको राप्रपाबीच एकता भएर एकीकृत राप्रपा बनेको थियो । राप्रपामा पार्टी सञ्चालनका लागि ५० जना भन्दा बढी सदस्य भएको निर्देशन समिति र २१ जनाको विशेष निदर्शन समिति बनाउन लागिएको छ । सोही समितिको आधारमा पार्टीका अध्यक्षदेखि सबै तहका नेता कार्यकर्ता परिचालन हुने गरी निर्णय गर्न लागिएको छ । तर अध्यक्ष थापा सो समितिको विपक्षमा छन् । यसबाहेक सरकारमा सहभागी हुने विषयमा पनि लोहनी–राणा विपक्षमा रहेकाले उनले प्राप्त मौकामा पनि सरकारमा जाने प्रस्ताव पार्टीमा राख्न  सकेका छैनन् । बरु आफू निकटका नेताहरु परिचालन गरेर उनले बाहिरबाहिरै माहोल बनाइरहेका छन् ।स्रोतका अनुसार जेठ १० गतेको भेटमा ओलीले थापालाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए भने त्यो ढोका अहिले पनि बालुवाटारले खुला राखेको छ । बालुवाटारले सकेसम्म थापालाई नै सरकारमा आउन भनेको छ । अन्यथा दोस्रो तहका नेतालाई पठाउँदा पनि मन्त्रिपरिषद्मा समेट्ने ओलीको आश्वासन छ । राप्रपाका नेता जनकराज पाठकले पार्टीभित्र सरकारमा जानेबारे कुनै प्रस्ताव नआएको र यसबारे छलफल पनि नभएको बताए । उनले अहिलेको अवस्थामा सरकारमा जानु भनेको आत्मघाती हुने प्रतिक्रिया दिए । पाठकले पार्टीमा निर्देशन समिति र विशेष निर्देशन समिति बनाउन लागिएको र सोही आधारमा पार्टी सञ्चालन गर्ने भन्नेबारे नेतृत्व तहमा मोटामोटी सहमति भइसकेको बताए । तत्कालीन नेकपा र जसपा यसअघि नै असफल भएको बहुअध्यक्ष प्रणालीको असर राप्रपामा पनि देखिन थालेकाले अब सोको नतिजा कस्तो देखिएला भन्नेमा राजनीतिक वृत्तमा चासो बढेको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्