यो साता १०३ अंकले बढ्यो सेयर बजार

Machchapuchchre Bank

अर्थ राजनीति  ~ एक सातामा सेयर बजार १०३ अंकले बढेको छ। अघिल्लो साता बजार बन्द हुँदा २६८४ अंकमा रहेको परिसूचक यो हप्ता बन्द हुँदा २७८७ अंकमा पुगेको छ। यो साताको पहिलो दिन आइतबार नै नेप्सेले १ महिनाअघिको रेकर्ड तोडेको थियो। सो दिन ५४ अंकले बढेर २७३८ अंकमा पुगेको नेप्से सोमबार फेरि २१ अंक बढेर २७५९ अंकमा पुग्यो। मंगलबार ३४ अंक बढेर २७९३ अंकमा पुगेको नेप्से बुधबार भने १३ अंकले करेक्सन भयो। त्यस्तै अन्तिम दिन बिहीबार जम्मा ६ अंकले बढ्यो। यो हप्ता कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ। आइतबार १० अर्ब ४४ करोड रुपैयाँको कारोबार हुँदा सोमबार सामान्य घटेर ९ अर्ब ५७ करोडमा सीमित भयो। त्यस्तै मंगलबार बढेर ११ अर्ब ३२ करोड पुग्यो भने बुधबार ११ अर्ब ९५ करोडको कारोबार भयो। एकै दिन भएको यो कारोबार रकम अहिलेसम्मकै धेरै हो। बिहीबार भने ९ अर्ब ३० करोडमा कारोबार खुम्चियो। रकमका आधारमा यो साता पुनर्बीमा कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल टेलिकम, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि रहे। समूहगत रुपमा हेर्दा एक सातामा बैंकिङ समूह ५९ अंकले बढेको छ। त्यस्तै होटल २१३, जलविद्युत ९१, विकास बैंक ३०१, माइक्रोफाइनान्स १७७, जीवन बीमा ७९०, निर्जीवन बीमा ४९६, फाइनान्स २२३, ब्यापार १५३ र अन्य समूह ९८ अंकले बढेका छन्। यो साता उत्पादन समूह भने १५८ अंकले घटेको छ। सातागत रुपमा हेर्दा यो साता समता घरेलु लघुवित्त, रुरु जलविद्युत परियोजना, गोर्खा फाइनान्स, राधि विद्युत, नेसनल हाइड्रोपावर, विशाल बजार कम्पनी, नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताको सम्पत्ति मूल्य उच्च दरले बढ्यो।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्