अर्थ राजनीति ~ ६ वर्षअघि आज (वैशाख १२) गतेकै दिन विनाशकारी भूकम्पले नौ तले धरहरालाई ढलाइदियो । आठ हजारभन्दा बढीको ज्यान जाने गरी गएको महाभूकम्पले करिब ९ सय पुरातात्विक सम्पदामा क्षतिग्रस्त बनेकोमा त्यसमध्ये एउटा ऐतिहासिक महत्व बोकेको धरहरा पनि थियो । त्यही धरहरा अहिले ११ तलाको चिटिक्क बनेको छ । धरहराको इतिहास १४० वर्ष पुरानो छ । वि.सं. १८८१ सालमा जनरल भीमसेन थापाले लगनटोलमा आफ्नो नामको धरहरा निर्माण गरी त्यसको नाम भीमसेन स्तम्भ राखेका थिए । पछि वि.सं. १८८२ मा रानी त्रिपुरा सुन्दरीको आज्ञामा जनरल थापाले सुन्धारामा अर्को धरहराको निर्माण गर्न लगाएका थिए, जुन धरहरा ११ तलाको थियो । त्यसको ९ औँ तलामा बालकनी राखिएको थियो । धरहरा पुनर्निर्माण गरिएको यो पहिलो पटक भने होइन । सुन्धाराको धरहरामा १९१३ मा चट्याङ परी क्षति पुग्यो । पछि १९२३ मा त्यसको जिर्णेद्धार गरिएको थियो । १९९० मा आएको महाभूकम्पले पनि धरहरालाई ठूलो क्षति पु¥याएको थियो । तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमसेरले वि.सं. १९९२ मा धरहराको पुनर्निर्माण गराएका थिए । तर, पुनर्निर्माणपछि धरहरा नौ तलामा मात्र सीमित रहन पुग्यो ।
अहिले ३ अर्ब ४५ करोड रुपैयाँ लागतमा बनाइएको धरहरा क्षतिग्रस्त धरहराभन्दा २२ मिटर अग्लो अर्थात् ८३.८५ मिटर छ । पुरातात्विक र आधुनिक शैलीको मिश्रण गरी निर्माण गरिएको धरहरा चढ्नकै लागि दुई वटा लिफ्ट राखिएको छ । पार्किङ क्षेत्र र बगैंचा निर्माणको काम अझै बाँकी छ । २०७४ कात्तिक २७ गते नेपाल सरकार मन्त्रीपरिषद्ले धरहरा पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो । त्यसपश्चात २०७५ असोज १४ गते नेपाल सरकार र राष्ट्रिय पुनर्निर्माण प्रधिकरणबाट धरहरा पुनर्निर्माणको काम सुरु भएको थियो । शनिबार एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका हुन् ।