अर्थ राजनीति ~ नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र मंगलबार पुनरावलोकनमा जाने तयारी गरेको छ । स्रोतका अनुसार आज बिहान ११ बजे माओवादी केन्द्र सर्वोच्च अदालत पुग्दैछ । नेकपा विवादमा सर्वोच्चको फैसलाप्रति चित्त नबुझाएको माओवादी केन्द्रले फैसला पुनरावलोकनका लागि सर्वोच्च जाने निर्णय गरेको थियो । कानुन व्यवसायीहरुको सुझावअनुसार माओवादी केन्द्र सर्वोच्चको फैसलाबारे पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको थियो । फैसला लगत्तै बसेको स्थायी समिति र केन्द्रीय समिति बैठकमार्फत निर्णय नै गरेर पुनरावलोकनमा जाने बताएको सो पार्टी फैसला आएको तीन साता बित्दा समेत जान सकेको थिएन । फैसलाप्रति चित्त नबुझे अन्तिम आदेश वा फैसला आएको मितिले ६० दिनभित्र पुनरावलोकनमा जान सकिने कानुनी व्यवस्था छ । मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा २२० अनुसार मुद्दा पुनरावलोकनमा जान सकिने व्यवस्था गरेको छ । यसो गर्दा सम्बन्धित पक्षले आदेश वा फैसला भएको ६० दिनभित्र निवेदन दिन सक्नेछ भनिएको छ ।नेकपा विवादमा ऋषि कट्टेलले दायर रिटमा चार पक्षलाई विपक्षी बनाएका थिए । जसमा निर्वाचन आयोग, नेपाल कम्युनिस्ट पार्टी (नेकपा), अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विपक्षी हुन् ।