काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पुनः अस्पताल पुगेका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोह हेरेलगत्तै उनी महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएका हुन् । ‘नियमित डायलासिसका लागि अस्पताल जानु भएको हो, ‘ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।
प्रधानमन्त्री ओलीको १० मंसिरमा एपेन्डिसाइटिसको अप्रेशन गरिएको थियो । उनी १० दिन अस्पताल बसेर १९ मंसिरमा बालुवाटार फर्किएका थिए । नियमित डायलासिस गर्न उनी अस्पताल पुगेका हुन् । प्रधानमन्त्री ओलीको करिजव १२ वर्ष पहिलो मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि नियमित डायलासिस गर्न थालिएको छ । उनको मिर्गौला पुनः प्रत्यारोपणबारे पनि छलफल भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग ) सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरेका थिए ।