प्रेस काउन्सिलको विभेद बिरुद्ध देशभरका पत्रकारहरु आन्दोलित, काठमाडौँमा अन्तरक्रिया सम्पन्न

Machchapuchchre

काठमाडौं। पत्रकार महासंघ र विभिन्न पेशागत संघ संगठनहरुमा आबद्ध पत्रकारहरु प्रेस काउन्सिलको कार्यशैलीबिरुद्ध आन्दोलित भएका छन् । प्रेस काउन्सिलले जारी गरेको ०७४/०७५ को पत्रिका वर्गीकरणको नतिजा भेदभावपूर्ण र पूर्वाग्रही रहेको भन्दै पुनरावलोकन गर्न माग गर्दै आन्दोलन घोषणा गरेका पत्रकारहरुले आज राजधानी काठमाडौँमा बृहत अन्तरक्रियाको आयोजना गरेका छन् ।

अन्तरक्रियामा बोल्ने अधिकांस पत्रकार संघसंगठनका नेताहरुले प्रेस काउन्सिल पत्रकारहरुको अभिभाबक संस्था बन्नुपर्नेमा हुने खानेहरुको कारिन्दा बनेको भन्दै आलोचना गरेका छन् । अन्तरक्रियामा बोल्ने वरिष्ठ पत्रकारहरुले समेत काउन्सिलका गतिविधिहरु पत्रकारिताको मर्म अनुकूल हुन नसकेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । संयुक्त संघर्ष समिति र पत्रकार महासंघ उपत्यकाका तिन शाखाहरुले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यथाशिघ्र माग पुरा नगरेसम्म आन्दोलन नरोकिने बताएका छन् ।

कार्यक्रममा प्रेस संगठनका संयोजक महेश्वर दाहालले पत्रकारिता क्षेत्रकै व्यक्तिहरु काउन्सिल पदाधिकारीको जिम्मेवारीमा रहँदा पनि पत्रकारमाथी अन्याय गरिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकारको विकास र सुरक्षाका लागि भनेर गठन भएको काउन्सिलले उल्टै पत्रकारहरुलाई असुरक्षित र आतंकित पार्ने काम गरेको टिप्पणी गरेका छन् । जुन पत्रिकाहरु निरङ्कुश राज्य व्यवस्थाकाविरुद्ध निरन्तर लडे आज तिनै पत्रिकारहरुलाई विभिन्न वहाना बनाएर सेवा सुविधा कटौती गर्न खोस्नु सरासर गलत भएको भन्दै बिस्टले काउन्सिललाई निर्णय सच्याउन आग्रह गरेका छन् ।

प्रेस युनियनका महासचिव अजयवाबु सिवाकोटीले प्रेस काउन्सिललाई सत्ता ठानी पत्रकारहरुले पत्रकार माथी नै अन्याय गरिरहेको बताएका छन् । अन्तरक्रिया कार्यक्रमा बोल्दै क्रान्तिकारी पत्रकार संगठनका बरिष्ठ केन्द्रिय सदस्य कमल बुढाले आफ्नो संगठन काउन्सिलको विभेदकारी निर्णयका बिरुद्ध आन्दोलन गरिरहेका पत्रकार साथीहरुकै साथमा रहेको बताउदै संयुक्त संघर्ष समितिले आयोजना गर्ने हरेक आन्दोलनका कार्यक्रममा सहभागिता जनाउन तयार रहेको प्रतिबद्धता जाहेर गरे ।

यस्तै उनले अहिले पनि पत्रकारहरु असुरक्षित रहेको प्रष्ट पार्दै हालै मात्र पोखराबाट पत्रकार राज कुमार घिमिरे र आस गुरुङ्गलाई प्रहरीले समाचार लेखेकै कारण हिरासतमा लिएर विप्लव नेकपा निकट रहेको आरोपमा फसाउन खोजेको र पत्रकार राजेन्द्र अधिकारीलाई पक्राउ पुर्जी जारी गरी कार्यालय र घर घेराउ गर्दै आतंकित पारेर पोखराबाट बिस्थापित गरेको बताए ।

बुढाले यस्तो बेला प्रेस काउन्सिल पत्रकारहरुको पेशाको रक्षा र सुरक्षाको प्रत्याभूति दिलाउनतिर लाग्नुको साटो पत्रपत्रिकाको बर्गिकरणको ठेकेदारी मात्र गरिरहेको भन्दै आक्रोश पोखेका छन् । साथै उनले सर्लाहीमा प्रहरीले हत्या गरेका नेकपा नेता कुमार पौडेलको फोटो आफुहरुले सार्बजनिक गरेपछि राज्य पक्षबाट दुख दिने काम भएको भन्दै पत्रकार महासंघ र प्रेस काउन्सिलको ध्यानाकर्षण गराएका थिए ।

यस्तै प्रभुनारायण बस्नेतले चाकडी चाप्लुसी नपुगेकै भरमा पत्रिकाको स्तर घटाउने काम भएको ठोकुवा गर्दै प्रेस काउन्सिलको भूमिका प्रति ‘क’ वर्गमा पर्ने पत्रिकाका पत्रकार समेत सन्तुष्ट नरहेको बताए । पत्रकार शम्भु श्रेष्ठले प्रेस काउन्सिलले पत्रपत्रिकाको वर्गीकरण गर्ने कार्यको आफूले सुरु देखि नै बिरोध गरिरहेको बताए ।

पत्रकार इश्वरी वाग्लेले प्रेस काउन्सिलमा नियुक्त हुने पदाधिकारीहरु बारम्वार दोहोरीनुले पनि शंका गर्ने आधार प्रशस्त रहेको बताएका छन् । प्रेस काउन्सिलका पूर्व सदस्य दामोदर दवाडीले मूलुकमा परिवर्तनका लागि लडेर नथाकेका पत्रकारहरु आफ्ना हक अधिकारका लागि लड्दा थाक्नु पर्ने स्थिति सिर्जना भएको बताए । पत्रकार महासंघ उपत्यका समन्वय समितिका अध्यक्ष एन.के दाहालले विभिन्न पेशागत संगठनबाट प्रेस काउन्सिलका प्रतिनिधित्व गरेका पत्रकारहरुलाई संगठनले कारवाही स्वरुप फिर्ता बोलाउन गरेका छन् ।

प्रेस संगठन ३ नं. प्रदेशका संयोजक विश्वमणि सुवेदीले प्रेस काउन्सिलले आन्दोलनरत पत्रकारहरुसँग तुरुन्त वार्ता गरि माग सम्वोधन गर्नुपर्ने बताए । संघर्ष समितिका संयोजक दीपक पाण्डेले आफूहरुका मागलाई वेवास्ता गरेमा त्यसको घाटा काउन्सिलले नै व्यहोर्नु पर्ने चेतावनी समेत दिएका छन् । पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शान्तराम विडारीले काउन्सिलको कार्यशैलीका कारण देशैभरका पत्रकारहरु आन्दोलित भएको बताए ।

पत्रकार भावना विद्रोहीले भागवण्डा र राजनीतिक सिण्डिकेटका कारण इमान्दार पत्रकारहरु सधै मर्कामा परिरहेको बताइन। कार्यक्रममा पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटा, पत्रकार केडिवि राउत लागायतले मन्तव्य राखेका थिए । संयुक्त संघर्ष समितिले अब चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरेर अगाडी बढ्ने जनाएको छ । साथै संघर्ष समितिले आफ्नो आन्दोलन सम्पुर्ण स्वरोजगार साना लगानीका मिडिया र संचारकर्मिको पक्षमा भएका कारण साथ दिन सम्पूर्ण पत्रकारहरुलाई आग्रह समेत गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्