भुटानमाथि नेपालको ऐतिहासिक जित, कप्तान मल्ल यसरी चम्किए

Machchapuchchre

काठमाडौं । नेपालले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उच्च स्कोर बनाएको खेलमा ऐतिहासिक जीत निकालेको छ । नेपालमा जारी १३‌ औँ दक्षिण एशियाली खेलकुदअन्तर्गत विहीवार(आज) को खेलमा नेपालले भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो अन्तर टि ट्वान्टीमा नेपालले हात पारेको सर्वाधिक ठूलो रन अन्तरको जित हो । यसअघि नेपालले सन् २०१४ को टि ट्वान्टी विश्वकपमा नेपालले हङकङलाई ८० हराएको सर्वाधिक ठूलो जित रहेको थियो ।

२ सय ३७ रनको विशाल विजयी लक्ष्य पछ्याएको भुटान २० ओभरमा ६ विकेट गुमाउँदै ९५ रनमा समेटियो । भुटानले टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा तीन विकेट गुमाएर २३६ रन बनाएको थियो । कप्तान ज्ञानेन्द्र मल्लको विस्फोटक ब्याटिङमा नेपालले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उच्च स्कोर बनाएको हो । मल्लले १०७ रन बनाएका थिए । यसअघि नेपालको टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च स्कोर मलेशियाविरुद्ध गएको जुलाईमा बनाएको १७३ रन थियो ।

बिहीवार मल्लले ५५ बलमा १०७ रन बनाए जुन नेपाली खेलाडीले बनाएको सबैभन्दा उच्च स्कोर हो । यसअघि पारस खड्काले सिङ्गापुरविरुद्ध बनाएको नटआउट नेपाली खेलाडीको एक मात्र शतक र उच्च स्कोर रहेको थियो। खड्काले राजीनामा दिएपछि कप्तान बनाइएका मल्लले राम्रो ब्याटिङ गर्न सकेका थिएनन् । तर कीर्तिपुर मैदानमा कमजोर भुटानसँग मल्लले सानदार ब्याटिङ गरे ।

मल्लसँगै आएका प्रारम्भिक ब्याट्स्म्यान खड्काले २८ बलमा नौ चौका र एक छक्काको सहयोगमा ५७ बनाए। यो खड्काको टी२० अन्तर्राष्ट्रिय क्रिकेट चौथो अर्धशतक हो । खड्का आउट भएपछि मल्लले आक्रमण ब्याटिङ गरे र २७ बलमा दुई चौका र पाँच छक्का प्रहार गरेर अर्धशतक पूरा गरे। उनले १७.४ ओभरमा ५३ बलमा शतक बनाए । नेपालका लागि दीपेन्द्रसिंह ऐेरीले नटआउट ४५ रन बनाए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्