अर्थ राजनीति – महानगरीय प्रहरी परिसर र सरकारी वकिल कार्यालय काठमाडौंले किटानी जाहेरी लिन अस्वीकार गरेपछि सांसद यादवले मानवअधिकार आयोगमा किटानी जाहेरी दिएका हुन् । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका हुन् । किटानी जाहेरीमा सांसद सुरेन्द्र यादवले सत्ता र शक्तिका आडमा ज्यान लिनसक्ने अझैपनि जोखिम रहेको उल्लेख गर्दै सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व‘आईजीपी’ खनाललाई पक्राउ गरी आवश्यक छानबिन र कारबाही गर्नुपर्ने माग गरेका छन् ।
बिहीबार आयोग कार्यालय पुगेर सांसद डा. यादवले सदस्यद्वय प्रकाश वस्ती र मोहना अन्सारीसँग भेट गरी उजुरी दिएका हुन् । उजुरीपत्र बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले उजुरीकर्ताले भनेजस्तो अपहरण भएको हो कि होइन भन्नेबारे अनुसन्धान गर्ने बताए । अपहरण भएको भए मानवअधिकारको उल्लंघन हुने भन्दै उनले मानवअधिकार पुनःस्थापना गर्न आयोगले भूमिका खेल्ने बताए ।
राज्यको संरक्षणमा गरिएको अपहरणकाण्डका अपराधीहरूलाई कानून बमोजिम कार्वाहीकोनिम्ति सरकारलाई निर्देशन दिन माग गर्दै सांसद डा.सुरेन्द्र यादव द्वारा मानव अधिकार आयोगमा उजुरी! हेरौं असनको साँढे झैं मैमत्त बनेको र अरिंगाल सेनालाई सडकमा ताण्डवनृत्यनिम्ति उतारेको ओलीतन्त्रले के गर्दोरहेछ! pic.twitter.com/Ek7Yw9xmUk
— Baburam Bhattarai (@brb1954) April 30, 2020