कोरोना भाइरसकाे कहर- विश्वमा १ लाख बढीको मृत्यु, करीब १७ लाख संक्रमित

Machchapuchchre

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार १ लाख २ हजार ६९३ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १६ लाख ९७ हजार ८ सय बढी छ ।

संक्रमितमध्ये ३ लाख ७६ हजार १८४ जना निको भएका छन् । विश्वव्यापीरुपमा एकै दिन कोरोनाका कारण ७ हजार ९ जनाको मृत्यु भएको छ भने एकै दिन ९४ हजार बढीमा संक्रमण देखिएको छ । अमेरिकामा शनिबार बिहान समाचार तयार पार्दासम्म एकैदिन २ हजार ४३ जनाको मृत्यु भएको छ ।

अमेरिकामा एकै दिन २ हजार बढीको मृत्यु भएको छ । पछिल्ला एक सातामा औषतमा दैनिक १५ सयका दरले आफ्ना नागरिक गुमाउँदै आएको अमेरिकामा पछिल्लो २४ घन्टामा २ हजार १७ जनाको मृत्यु भएको छ । जुन संख्या इटालीको भन्दा १ सय ५० ले कमी हो । हालसम्म सबैभन्दा बढी मानिसहरुको मृत्यु भएको इटालीमा हो । इटालीमा हालसम्म १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा २२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २४९ पुगेको हो । भारतमा एकैदिन ८७६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ हजार ६०० पुगेको छ ।

भारतमा संक्रमितमध्ये ७७४ जना उपचारपछि निको भएका छन् । ६ हजार ५७७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एसियाली मुलुकमा कोरोनाका कारण सबैभन्दा बढी इरानमा ४ हजार २३२ जनाको मृत्यु भएको छ । त्यसैगरी चीनमा ३ हजार ३३६ जनाको मृत्यु भएको छ भने टर्कीमा १ हजार ६ जनाले ज्यान गुमाएका छन् ।

इन्डोनेसियामा ३०६ जनाले ज्यान गुमाउँदा भारतमा २४९ जनाको मृत्यु भएको छ । भारत एसियाली मुलुकमा सबैभन्दा बढी ज्यान गुमाउनेको सूचीको पाँचौ नम्बरमा रहेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ । सार्क मुलुकमध्ये सबैभन्दा बढी भारतमा संक्रमण फैलिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्