कृषि ऋणको ४ महिनाको व्याज तिरिदिने प्रदेश २ सरकारकाे निर्णय

Machchapuchchre

जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना महामारी रोक्न गरिएको लकडाउनबाट कारण प्रभावित किसानले लिएको ऋणको चार महिनाको व्याज तिरिदिने निर्णय समेत गरेको छ ।

शुक्रबार विहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले किसानले बैंक, वित्तीय संस्था वा सहकारीबाट लिएको ऋृणको ४ महिनाको व्याज तिरिदिने निर्णय गरेको हो ।

कृषि कर्मको लागि किसानहरुले ५ लाखसम्म लिएको ऋणमा अधिकतम १२ प्रतिशतसम्मको ४ महिनाको, पाँच लाखदेखि १५ लाखसम्मको ऋणमा १२ प्रतिशतसम्मको व्याजदरमा ५० प्रतिशत तिरिदिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

त्यस्तै १५ लाखदेखि ३० लाखसम्मको ऋणमा ४० प्रतिशत र ३० लाख भन्दा बढीको ऋणमा कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले निर्णय गरे बमोजिम व्याज तिरिदिने निर्णय भएको उनले बताए । यस्तै, दूध, फलफूल, तरकारी, कुखुरा तथा माछापालक किसानलाई थप राहत दिने निर्णय प्रदेश सरकारले गरेको यादवले बताए ।

प्रदेश २ सरकारले कोभिड १९ रोकथाम तथा उपचारमा खटिने क्रममा मृत्यु हुनेको परिवारलाई ५० लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले कोरोना नियन्त्रण र उपचारका लागि खटिने व्यक्तिको मृत्यु भए उनका परिवारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्