हामीलाई जीवन र स्वतन्त्रता दुबै चाहिन्छ – बाबुराम भट्टराई (भिडियाेसहित)

Machchapuchchre Bank

काठमाडाैं । पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जीवन र स्वतन्त्रता दुबै चाहिने बताएका छन्। कोरोनाभाइरस परास्त गर्न सकिने उल्लेख गर्दै भट्टराईले ‘यस्तो बेलामा जीवन वा स्वतन्त्रता भन्ने होइन, हामीलाई जीवन र स्वतन्त्रता दुबै चाहिन्छ’ भनेका हुन्।

केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले जीवन वा स्वतन्त्रतामा अल्झन नहुने बताएको प्रति लक्षित गर्दै भट्टराई आफूहरूलाई दुबै चाहिने बताएका हुन्।

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधनका क्रममा ‘यतिखेर ‘जीवन कि वैयक्तिक स्वतन्त्रता ?’ जस्ता प्रश्नमा अलमलिनु हुँदै हुन्न भन्नेमा जोड दिन चाहन्छु। जीवनको रक्षा नै सबैभन्दा महत्वपूर्ण मानव अधिकार हो र विश्व मानव जाति र मानवीय सभ्यताको रक्षा आजको विश्वको प्राथमिक महत्वको काम हो भन्ने कुरा स्पष्ट पार्न चाहन्छु’ भनेका थिए।

बिहीबार भिडिओ सन्देश जारी गर्दै भट्टराईले राज्यले जनतालाई राहत दिनुपर्ने बताएका छन्। ‘कोरोनापछि पनि देशलाई समृद्ध बनाउने, पुनर्निर्माण र नवनिर्माणका योजनामा राज्यले भूमिका निर्वाह गर्नुपर्ने हुन्छ,’ उनले भनेका छन्।

आर्थिक क्षेत्रमा अब कसरी जाने भन्ने विषयमा राज्यले विज्ञसँग छलफल गर्नुपर्ने उनले बताएका छन्। ‘अन्तत: मानव जातिले कोरोनालाई परास्त गर्छ र मानव सभ्यता अगाडि बढ्छ। सबै एकजुट भएर अगाडि बढौं। सकरात्मक सोच राखौं,’ उनले भने।

छ मिनेट लामो भिडिओमा भट्टराईले विश्वका आधा जनसंख्या लकडाउनमा रहेको पनि उल्लेख गरेका छन्। ‘कोरोनासँग जुध्न अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनेका छन्, ‘खाद्यान्नलगायत आपूर्तिमा लाग्ने र सरसफाइका कर्मचारीलाई धन्यवाद दिन्छु।’

मानिसहरू घरमा थुनिएर बसेका बेला तनाव र आशंका उत्पन्न हुन सक्ने भन्दै उनले तनावमुक्त भएर सकरात्मक सोच राख्न आग्रह गरेका छन्। ‘तनाव र चिन्ता गर्ने होइन, चिन्तन गर्ने हो,’ उनले भने, ‘महाव्याधिपछि पनि संसार रहन्छ। जीवन रहन्छ भन्ने सोच राख्नुपर्छ।’ राज्य र नागरिकको सहकार्यले मात्रै कोरोना परास्त गर्न सकिने उनले उल्लेख गरेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्