स्वदेश फर्कन चाहने प्रवासी नेपालीलाई सकेसम्म फर्काउन र क्‍वारेन्टाइनमा राख्न – सर्वोच्च

Machchapuchchre

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल फर्कन चाहने प्रवासी नेपालीलाई सकेसम्म फर्काउन र क्‍वारेन्टाइनमा राख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । विदेशमा रहेका नागरिकलाई नेपाल फर्कन रोक लगाउने सरकारको निर्णय अनि महाकालीपारिबाट नेपाल फर्कन चाहेकाहरुलाई सुरक्षाकर्मीले गरेको अवरोधविरुद्ध परेको रिट निवेदनमा सर्वोच्चले उनीहरुलाई नरोक्न आदेश दिएको हो ।

‘विदेशमा खान, बस्न र उपचारको अभाव झेलिरहेका वा विपतमा परेका नेपाली नागरिकको पहिचान गरी नेपाल फर्कन चाहेको हकमा सम्बन्धित मुलुकसँग कूटनीतिक माध्यमबाट समन्वय गरी नेपाल ल्याउन व्यवस्था गर्नु गराउनु’ अन्तरिम आदेशमा भनिएको छ, ‘त्यस्तो कार्य तत्काल सम्भव नभएमा निजहरुलाई त्यही स्थानमा खान बस्न र स्वास्थ्य उपचारमा उचित प्रबन्ध गरी नागरिकको हकहितको रक्षा गर्ने व्यवस्था मिलाउन आवश्यक पहल गर्नु ।’

न्यायाधीशद्वय दीपककुमार कार्की र डा. मनोजकुमार शर्माको इजलासले महाकालीपारि अलपत्र परेका नागरिकहरुका हकमा पनि त्यस्तै आदेश जारी गरेको हो ।

तत्काल नेपाल प्रवेश सम्भव नभएमा कूटनीतिक पहलबाट लकडाउनको अवधिसम्म त्यहाँ रहेका नागरिकलाई यथास्थानमा खाने बस्ने र स्वास्थ्य सुनिश्चितताको व्यवस्था गर्न पनि सर्वोच्चले आदेश गरेको छ। त्यस्तै सर्वोच्चले विदेशमा रहेका नागरिक समेत नेपाल फर्कन चाहेमा फर्कने व्यवस्था मिलाउन पनि आदेश गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्