कपिलवस्तुमा भीषण आगलागी, ४२ घर रहेको पूरै बस्ती जलेर सखाप

Machchapuchchre

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा भीषण आगलागी हुँदा ४२ घर जलेर नष्ट भएको छ । गुगौलीका काशीराम यादवका घरमा दिउँसो खाजा बजाउन बालेको आगोले खरले छाएको घरमा छोई आगलागी शुरु भएको थियो । आगोले गाउँका पूरै घर जलेका छन् ।

गाउँको उत्तरदेखि शुरू भएको आगो हावाको बहावसँगै पूरै गाउँमा फैलिएको थियो । आगोबाट कुनै पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए ।

आगलागीबाट करीब एक करोडको नोक्सान भएको स्थानीयवासीले बताएका छन् । अग्निपीडतको वास्तविक क्षति विवरण प्रहरीले संकलन गरिरहेको छ । अग्निपीडितहरुको राहतका लागि विजयनगर गाउँपालिकाले व्यवस्थापन गरिरहेको वडा नम्बर १ का वडाध्यक्ष इन्दर थारुले जानकारी दिए ।

कृष्णनगर नगरपालिकाको दमकल बिग्रेकाले तौलिहवाको दमकल आउन ढिलाइ भएको थियो । आगलागीपछि पूरै गाउँ सखाप भएपछि तौलिहवाको दमकल गुगौली पुगेको थियो । तौलिहवा र गुगौलिको दूरी करीब ५० किलोमिटर छ । सुख्खा मौसम सुरु भएसँगै तराई मधेसका क्षेत्रमा बर्षेनी आगलागीका घटना बढ्ने गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्