स्वास्थ्य उपकरण तत्कालै प्रदेश र जिल्लामा पुर्‍याउन कांग्रेसको आग्रह

Machchapuchchre

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रण तथा उपाचारका लागि चीनबाट ल्याइएको स्वास्थ्य उपकरण तथा सामग्रीहरु अविलम्ब सबै प्रदेश र जिल्लामा पुर्‍याउन आग्रह गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरि देशभरका सबै स्वास्थ्य केन्द्रमा आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्री वितरणको यथाशिघ्र व्यवस्था गर्न आग्रह गरेका हुन् ।

खाणले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा सम्लग्न चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी र सुरक्षार्थ खटिने सुरक्षाकर्मीहरुको आत्मबल बढाउने काम गर्न पनि स्वास्थ्यमन्त्रीलाई आग्रह गरेका छन् ।

त्यस्तै निजी अस्पताल र स्वास्थ्य संस्थालाई आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्रीहरु उपलब्ध गराइ कोरोना रोकथाम, नियन्त्रण तथा उपचार अभियानमा सहभागी गराउने सुझाव पनि खाणले दिए ।

जवाफमा स्वास्थ्य मन्त्री ढकालले नेपालमा ल्याइएको स्वास्थ्य उपकरण तथा सामग्रीहरु सोमबार बिहानबाट वितरण भइरहेको र साँझसम्म सबै प्रदेशमा वितरण हुने र प्रदेशबाट सबै जिल्लाहरुमा वितरण भएको बताएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्