बाँकेमा कतारबाट फर्किएका तीन जनाको रिपोर्ट नेगेटिभ

Machchapuchchre

बाँके । फ्रान्सबाट कतार हुँदै आएकी कोरोना भाइरस सङ्क्रमित युवतीसँगै बाँके आएका तीन जनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएका उनीहरुसहित छ जनाको नमूना परीक्षणको लागि काठमाडौँ पठाइएकोमा नेगेटिभ रिपोर्ट आएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए ।

यसअघि पहिलो चरणमा सात जनाको नमूना जाँच गर्न पठाइएकामा ती नमूना पनि नेगेटिभ नै आएको चन्दले बताए । बाँकेमा कोरोना भाइरसको आशङ्का गरिएका २३ मध्ये दुई चरणमा गरी १३ को रिपोर्ट नेगेटिभ आएको र १० जनाको रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए । चन्दका अनुसार तेस्रो चरणमा शनिबार थप १० जनाको नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको छ ।

कतारबाट आएकी युवतिको रिपोर्ट ‘नेगेटिभ’
कतारबाट आएकी दाङकी एक महिलाको कोरोना भाइरस रिपोर्ट ‘नेगिटिभ’ देखिएको छ । आइतबार ती महिलासहित बेलझुण्डीको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा रहेका अर्का एक जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

हाल सङ्क्रमित युवती सवार कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानमा आएकी ती महिलाको रिपोर्ट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताए । उनीहरु दुवैको शनिबार स्वाब सङ्कलन गरी काठमाडौँ पठाइएको थियो । शनिबार ६ जनाको स्वाब पठाएकामध्ये अन्य चार जनाको रिपोर्ट भने आउने क्रममै छ ।

कोभिड–१९ को आशङ्का गरिएका २३ नमूना नेगेटिभ प्रदेश नं १ बाट कोरोना भाइरसको आशङ्का गरिएका ३० बिरामीको थ्रोट स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकामा आइतबारसम्म २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्र विराटनगरले अन्य सात जनाको रिपोर्ट आउन बाँकी रहेको जनाएको छ । यस्तै प्रदेश नं १ मा कोभिड–१९ को आशङ्का भएका बिरामीलाई राख्न निर्माण गरिएको आइसोलेसन र क्वारेन्टाइमा आजसम्म ५१२ जनालाई राखिएको छ ।

केन्द्रका अनुसार आइसोलेसनमा दुई महिलासहित आठ जनालाई राखिएको छ भने क्वारेन्टाइनमा ६२ महिलासहित ४०४ जना रहेका छन् । होम क्वारेन्टाइनअन्तर्गत ९३ महिलासहित ६०९ सुरक्षाका लागि बसेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्