दुबईबाट आएर कोरोना विशेष अस्पतालमा उपचाररत एक युवाको मृत्यु

Machchapuchchre

काठमाडौँ । विश्वभर तहल्का मच्चाईरहेको कोरोनाको कारण नेपाल पनि अस्तव्यस्त बनेका बेला रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा एक युवकको मृत्यु भएको छ ।

सैनामैना नगरपालिकाका ३४ वर्षीय बाबुराम थापाको आइतबार मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए।

थापा चैत ६ गते दुबईबाट फर्किएका थिए। उनलाई उतैबाट आउँदा ज्वरो आएको भए पनि घरमै बसेर औषधि खाएको खुलेको डाक्टर थापाले बताए। घरमा औषधि खाँदा निको नभएपछि उनी १३ गते अस्पताल आएका थिए।

थापालाई आइतबार आईसियुमा राखी उपचार गर्ने तयारी गरिरहेको बेला मृत्यु भएको डाक्टर थापाले जानकारी दिए। उनको मृत्यु के कारणले भयो भन्ने पुष्टि भएको छैन।

अस्पताल आउनासाथ उनको स्वाब निकालेर काठमाडौं पठाइएको थियो। ‘तर रिपोर्ट आइसकेको छैन,’ डाक्टर थापाले भने,‘ उताबाट सोमबारसम्म आउने जानकारी आएको छ।’ ती युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छैन । नमुना परीक्षणका लागि काठमाडौं पठाए पनि रिपोर्ट नआएको स्रोतले जनाएको छ ।

तस्विर गुगलबाट

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्