कास्की–२ को ताजा मतपरिणाम सार्वजनिक, रबिन्द्रपत्नी विद्या अघिअघि, काँग्रेसका खेमराज पछिपछि

Machchapuchchre

कास्की । कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना अहिले जारी छ । मतगणना बिहान २ बजेदेखि शुरु भएको हो । अहिलेसम्म ३३ वडाको मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ । जहाँ ५ हजार ६ सय ४२ मत खसेको थियो ।  जसमध्ये नेकपाकी उम्मेद्वार रहेकी दिवंगत रविन्द्र अधिकारी पत्नी विद्या भट्टराईले ३ हजार २ सय ७६ मत प्राप्त गरेकी छन् भने कांग्रेसका उम्मेद्वार खेमराज पौडेलले २ हजार १ सय १५ मत प्राप्त गरेका छन् ।

५२ स्थानका लागि भएको उपनिर्वाचनको परिणाम आधाआधी आइसकेको छ । ३७ जिल्लाका विभिन्न तहमा भएको निर्वाचनमा गुल्मी, भोजपुर, खोटाङ, काभ्रे, बाग्लुङ, लम्जुङ, कञ्चनपुर, रोल्पा, सल्यान लगायतका जिल्लामा भएको उपनिर्वाचनमा २१ स्थानमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निर्वाचित भएको छ ।  निर्वाचन भएका ४३ वडामध्ये नेकपाले २२ स्थानमा विजयी भएको थियो ।

सुरूमा कांग्रेसले जितेको प्रचार भएको बाजुराको त्रिवेणी गाउँपालिका–१मा नेपाले जित हासिल गरेको छ । त्रिवेणी–१ मा नेकपाका उमेदवार मनराजे बुढाले ३६७ मत ल्याएर विजयी भए । कांग्रेसका उमेदवार खकेन्द्रबहादुर चदारले ३४७ मत पाए । नेकपाका उमेदवार २० मतको अन्तरमा विजयी भएका हुन् । फिदिम नगरपालिका–१ मा नेकपाका गजाधर भट्टराई १ हजार ४४६ मत प्राप्त गरी विजयी भएका छन् । अछामको मेल्लेख गाउँपालिका–५ मा नेकपाका विजयी भएको छ ।

सिरहाको कल्याणपुर नगरपालिका–१२ मा नेपकाका उमेदवार दिलीपकुमार यादव निर्वाचित भएका छन् । रामेछापको उमाकुण्ड गाउँपालिका–५ मा नेकपाका कुलबहादुर बस्नेत ७६९ मत ल्याएर विजयी भएका छन् । कांग्रेसका उमेदवारले ३८० मत प्राप्त गरे । समाजवादीले १०, राप्रपाले ५ र १० मत बदर भयो । बाँकेको कोहलपुर नगरपालिका– ५ मा नेकपाका रामशरण थारू निर्वाचित भएका छन् । उनले १५२ मत ल्याएर साविक विजेता काग्रेसलाई पराजित गरे । कांग्रेसका श्रीकृष्ण थारुले १३४ मत ल्याए । यसअघि त्यहाँ काङ्ग्रेस निर्वाचित भएको थियो ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका–१३ मा नेकपाका उमेदवार भरतकुमार घिमिरे निर्वाचित भएका छन् । घिमिरेले ७६९ मत प्राप्त गरे ।
उनले काङ्ग्रेसका उमेदवार विक्रम गुरूङलाई पराजित गरे । गुरूङले ४६७ मत प्राप्त गरे । भोजपुरको पौवादुङ्मा नगरपालिका–१ मा नेकपाका उमेदवार जितेन्द्र राई निर्वाचित भए । उनले ६१९ मत ल्याए भने कांग्रेसका उमेदवार सम्मरबहादुर कार्कीले २५४ मत ल्याए ।

बाग्लुङ बडिगाड गाउँपालिका–२ मा नेकपाका उमेदवार ढालप्रसाद शेरचन ७०४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका उमेदवारले ४१२ मत प्राप्त गरे । काठमाडौंको दक्षिणकाली नगरपालिका–३ को उपनिर्वाचनमा सत्तारूढ दल नेकपाका उमेदवार शिवभक्त बलामी निर्वाचित भएका छन् । उनले ६१८ मत प्राप्त गरे । कांग्रेसका उमेदवारले २७८, राप्रपा (संयुक्त)ले १०७ र राप्रपाले ७ र २९ मत बदर भएको बताइएको छ ।

धुलिखेल नगरपालिका–२ को उपनिर्वाचनमा पनि नेकपा विजयी भएको छ । नेकपा उमेदवार देवप्रसाद कोइरालाले ८६८ मत प्राप्त गरेका छन् । काङ्ग्रेसका उमेदवार दर्णबहादुर खत्रीले ५८२, राप्रपा (संयुत्त)का उमेदवार बासु थापा ले ६ मत प्राप्त गरेका छन् । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ को वडाध्यक्षको उपनिर्वाचनमा नेकपा विजयी भएको छ ।

रिक्त वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपाका उमेदवार केदारप्रसाद आचार्यले ७१२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका राले तामाङले ४३१ मत प्राप्त गरे । पशुपति शमशेर नेतृत्वको राप्रपा (संयुक्त)ले १२, कमल थापा नेतृत्वको राप्रपाले ३ र ९ मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ । अघिल्लो निर्वाचनमा त्यहाँ कांग्रेस निर्वाचित भएको थियो ।

त्यस्तै सल्यानको कुमाखमालिका गाउँपालिका–५ को वडाध्यक्ष निर्वाचनमा नेकपाका उमेदवार धर्मे बुढाथोकी निर्वाचित भएका छन् । कुल ११२४ मत खसेको मध्ये बुढाथोकीले ७९२ मत ल्याए भने निकटतम प्रतिस्पर्धी काङ्ग्रेसका खडकबहादुर बुढाथोकीले २५१ मत ल्याएका छन् । लम्जुङ सुन्दरबजार नगरपालिकामा नेकपाका उमेदवार विजयी भएका छन् । वडा नम्बर २ को रिक्त वडाध्यक्ष पदमा शनिबार भएको उपनिर्वाचनमा नेकपाका उमेदवार नवीन श्रेष्ठ विजयी भएका छन् । उनले ९९३ मत ल्याए ।

प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार प्रकाश सेढाइँले ४८२ मत ल्याए । सोही निर्वाचनमा राप्रपाले १६ र स्वतन्त्र उमेदवारले १२ मत प्राप्त गरेका छन् । १० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । पुनर्वास नगरपालिका–३मा पनि सत्तारूढ नेकपा नै विजयी भएको छ । खानेपानीमन्त्री बिना मगरको वडासमेत रहेको पुनर्वास–३ मा ९२४ मत खसेकामध्ये ५२८ मत ल्याएर कृष्णबहादुर तामाङ निर्वाचित भए । काङ्ग्रेसका दीपबहादुर तामाङले ३९० मत प्राप्त गरे ।

यसअघि रोल्पाको विद्रोही थवाङमा नेकपा नै निर्वाचित भएको थियो । विरलै मताधिकार प्रयोग गर्ने विद्रोही उपनाम पाएको थवाङमा १५४ मत प्राप्त गरी नेकपाका जनकबहादुर बुढामगर निर्वाचित भएका थिए । प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका कमलबहादुर रोकामगरले २६ मत प्राप्त गरेका थिए । यद्यपि त्यहाँका ८६ प्रतिशत मतदाताले मतदान नै गरेनन् ।

खोटाङको साकेला गाउँपालिका–३ मा पनि नेकपा निर्वाचित भएको छ । त्यहाँ नेकपाकी उमेदवार शिवकला राई विजयी भइन् । डोटीको आदर्श गाउँपालिका–२ मा नेकपाका उमेदवार रामबहादुर बोहोरा निर्वाचित भएका छन् । त्यस्तै रुरु गाउँपालिका– २ गुल्मीमा पनि नेकपा मतले निर्वाचित भएको छ । त्यहाँ गिरिप्रसाद सिञ्जाली ८०२ मत ल्याएर निर्वाचित भएका छन् । प्रतिस्पर्धी काङ्ग्रेसका वेदप्रसाद दर्लामीले ७२७ मत ल्याए ।

पूर्वी नवलपरासीको बौंदीकाली गाउँपालिका–५ मा पनि नेकपाका खिमबहादुर खरुमगर निर्वाचित भएका छन् । उनले ३६७ मत पाए भने प्रतिस्पर्धी काङ्ग्रेसका तुलबहादुर रानाले २११ मत पाए । डोटीको आदर्श गाउँपालिकामा नेकपाका उमेदवार रामबहादुर बोहोरा निर्वाचित भएका छन् । उनले काङ्ग्रेसका महादेव साउदलाई पराजित गरे । साउदले ६५६ मत प्राप्त गरे ।

कांग्रेसले बैतडीबाट विजयीको सुरूआत गरेको थियो । बैतडीको सुनर्या गाउँपालिका–१ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द ४ मत बढीले विजयी भएका छन् । उनले २१९ मत ल्याएर नेकपाका उमेदवारलाई पछि पारे । बाराको गढिमाई नगरपालिका–२ मा पनि काङ्ग्रेस निर्वाचित भएको छ । त्यहाँ नेपाली काङ्ग्रेसका उमेदवार ७७१ मत ल्याउँदा नेकपाका उमेदवारले ५९६ मत प्राप्त गरे । अर्घाखाँची मालारानी गाउँपालिका–३मा काङ्ग्रेसका उमेदार शोभाखर खनाल निर्वाचि भएका छन् । उनले १ हजार १५९ मत प्राप्त गरे । नेकपाका उमेदवारले १ हजार ५३ मत पाएका छन् ।

चितवनको भरतपुर महानगरपालिका–१६ मा काङ्ग्रेसका उमेदवार अमृतराज हमाल निर्वाचित भएका छन् । अमृतले ३ हजार १ सय ८३ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी नेकपाका भक्तराज हमालले २ हजार ८७५ मत ल्याए । यो वडा नेकपाले गुमायो । गत निर्वाचनमा यहाँ एमालेका उमेदवार चतुरमान गुरूङ निर्वाचित भएका थिए ।

चितवनकै खैरहनी–५ मा काङ्ग्रेसकै प्रतीमा कार्की निर्वाचित भएकी छन् । खैरहनी नगरपालिका–४ नम्बर वडाको उपनिर्वाचनमा पनि काङ्ग्रेसकै उमेदवार देवबहादुर बस्नेत विजयी भए । उनले १ हजार १३८ मत ल्याएर नेकपाका बेदबहादुर अधिकारीलाई पराजित गरे । अधिकारीले ९८६ मत प्राप्त गरे । बैतडीको दोगडा केदार गाउँपालिका–४ मा नेपाली काङ्ग्रेसका सुरेन्द्रप्रसाल भट्ट निर्वाचित भएका छन् ।
घोराही नगरपालिका–१६ मा काङ्ग्रेस निर्वाचित भएको छ। त्यहाँ नेकपाले ३७८ मत प्राप्त गरी त्यो वडा गुमाएको छ । अघिल्लो निर्वाचनमा नेकपा विजयी भएको थियो ।

समाजवादीले सर्लाहीको हरिपुर्वा नगरपालिका–१ वडामा जित हात पारेको छ । हरिपुर्वामा समाजवादी पार्टीका श्यामबाबुले रायले ३४७ मत ल्याएर जिते । प्रतिस्पर्धी राजपाका रामविश्वास रायले ३२८ मत ल्याए । नेकपाका उमेदवार दोस मोहम्द अन्सारीले पनि उत्तिकै ३२८ मत ल्याएका थिए । चौथो भएको जनमत पार्टीले ५२ र पाँचौं कांग्रेस पार्टीले २३ मत ल्याएको छ ।

पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ मा समाजवादी पार्टी विजयी भएको छ । समाजवादी पार्टीका रूपलालकुमार यादवले १ हजार ३१ मत ल्याए । प्रतिस्पर्धी काङ्ग्रेसका असेशरप्रसाद यादवले ८११ मत पाए । नेकपाका उदयशङ्करप्रसाद रौनियारले २३२ मत पाए ।

राष्ट्रिय जनता पार्टीले महोत्तरीको मटिहानी नगरपालिका–६ मा जितेको छ । मटिहानी–६ मा राजपाका उमेदवार रामबाबु नायक विजयी भए । उनले ३०१ मत ल्याए । प्रतिद्वन्द्वी नेकपाका मोहम्मद जाकिर अन्सारीले २७१ मत ल्याउँदा काङ्ग्रेसले दोहोरो अङ्क कटाउन सकेन । जम्मा २४ मत ल्यायो । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्षको उपनिर्वाचनमा राजपा निर्वाचित भएको छ । राजपाकी प्रमिलादेवी यादवले ५४० मत ल्याएर नेकपाका उमेदवार अच्छेलाल यादवलाई पराजित गरिन् । अच्छेलालले ५२९ मत ल्याए । कांग्रेसले त्यहाँ दोहोरो अङ्क कटाउन सकेन । काङ्ग्रेसका उमेदवार शिवनारायण मण्डलले १५ मत ल्याए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्