तीन दिनभित्र रक्सीभट्टी नष्ट नगरे प्रहरी इन्जार्चलाई कारवाही

Machchapuchchre

जनकपुरधाम । प्रदेश २ सरकारले आ–आफ्नो क्षेत्रका घरेलु रक्सीका भट्टी नष्ट गर्न प्रहरीलाई निर्देशन दिएको छ । तीन दिनभित्र भट्टी नष्ट नगरिए सम्बन्धित क्षेत्रका इन्जार्चलाई कारवाही गर्ने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए ।

‘आजै सुरक्षा निकायसँग हाम्रो बैठक बसेको छ’ मन्त्री यादवले सोमबार प्रदेशसभा बैठकमा भने, ‘बैठकले प्रत्येक इलाका प्रहरी कार्यालयलाई आफ्नो क्षेत्रभित्रका घरेलु मदिरा भट्टीलाई नष्ट गर्न निर्देशन दिइएको छ । तीन दिनभित्र नष्ट नगर्ने प्रहरी कार्यालयका इन्चार्जलाई कारवाही गरिनेछ ।’

मन्त्री यादवले घरेलु मदिरा उद्योग सञ्चालनमा सहयोग गर्ने प्रहरीलाई पनि कारवाही गर्ने विषयमा पनि बैठकमा छलफल भएको जानकारी गराए । घरेलु रक्सी समाजको कुरीति हो भन्दै उनले कुरीति हटाउन बल प्रयोग गरेर भए पनि सरकार अघि बढ्ने बताए ।

खुला रक्सीका कारण धनुषामा २० जना भन्दा धेरैको मृत्यु भइसकेको छ । ज्यान जानेका परिवारलाई प्रदेश सरकारले जनही ३ लाखका दरले सहयोग उपलब्ध गराउने बताउँदै मन्त्री यादवले सिकिस्त बिरामीको उपचार पनि प्रदेश सरकारले गराउने बताए ।

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टीका सांसद शत्रुधन महतोले खुला रक्सी बन्द गराउन प्रदेश सभामा सोमबार सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएपछि सांसदहरुले राखेको जिज्ञासालाई सम्बोधन गर्दै मन्त्री यादवले प्रदेशभरि नै युवा दुर्व्यसनमुक्त अभियान संचालन गर्न लागेको बताए ।

उनले यसका निम्ति निर्देशिका तयार भइसकेको र एक हप्ताभित्रै काम शुरु गर्ने जानकारी गराए । मन्त्री यादवले प्रत्येक जिल्लामा लागूऔषधविरुद्वको काउन्सिलिङ सेन्टरको पनि स्थापना गर्न लागिएको बताउदै चालू आर्थिक बर्षमै यो पनि स्थापना हुने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्