काठमाडौंबाट १० लाख थान बढी मास्क बरामद, लुकाइएका ग्यास सिलिन्डर र सेनिटाइजर खोज्दै प्रहरी

Machchapuchchre

काठमाडौं । रोना भाइरस (कोभिड–१९)को आडमा कालोबजारी गर्नेविरुद्ध प्रहरीले विशेष अपरशेन शुरु गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरी र मातहतको महानगरीय प्रहरी परिसर काठमाडौंले मास्क तथा सेनिटाइजर (हात सफा गर्न प्रयोग हुने पदार्थ)को कालोबजारी गर्नेविरुद्ध अपरेशन शुरु गरेको छ ।

प्रहरीले शनिबारदेखि शुरु गरेको अभियानअन्तर्गत आइतबार साँझसम्म गरी १० लाख थानभन्दा बढी मास्क बरामद भइसकेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले कोरोना भाइरसको आडमा विभिन्न उपभोग्य बस्तुको कालोबजारी गर्नेविरुद्ध विशेष अपरेशन चलाइएको बताए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार आइतबार कपनको एउटा गोदाममा छापा हान्दा १ लाख ६८ हजार मास्क बरामद भएको थियो । प्रहरीले कपनमा छापा हान्ने क्रममा मास्क कालोबजारी गर्ने कार्यमा संलग्न भारतीय नागरिकहरु सुरजकुमार गोयल र सुवास महेश्वरीलाई पक्राउ गरेको छ । उनीहरुकै समूहले काठमाडौंको सतुंगलमा पनि ठूलो मात्रामा मास्क लुकाएर राखिएको देखिएको थियो । प्रहरीले सतुंगलस्थित रोहित श्रेष्ठको घरमा रहेको गोदाममा छापा हान्दा झन्डै साढे ८ लाख थान मास्क बरामद गरेको छ ।

प्रहरीले आइतबार साँझ सतंगलस्थित गोदाममा सिलबन्दी गरेर सोमबार बिहान खानतलासी गरेको थियो । तलासीका क्रममा १ सय ७५ वटा बोरामा लुकाएर राखिएको अवस्थामा ८ लाख ५० हजारको हाराहारीमा मास्क बरामद भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ ।

मास्क लुकाइको भन्ने विशेष सूचनाको आधारमा शनिबार काठमाडौंको डल्लु क्षेत्रमा छापा मार्दा प्रहरीले ७८ हजार थान मास्कसहित ८ जनालाई पक्राउ गरेको थियो । यस्तै आइतबार साँझ कपनबाट १ लाख ६८ हजार र सतुंगलबाट ८ लाख ५० हजार गरी अहिलेसम्म करिब १० लाख ९६ हजार थान मास्क बरामद भएको जनाइएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी स्रोतका अनुसार काठमाडौंका केही ठूला व्यवसायीहरुले अहिले दैनिक उपभोग्यका वस्तुहरु लुकाउन थालेका छन् । खाना पकाउने एलपी ग्यासका सिलिन्डरदेखि मास्क र सेनिटाइजर समेत लुकाइएको प्रहरी स्रोतको भनाइ छ ।

प्रहरीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवम् वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको सहकार्यमा कालोबजारीविरुद्ध विशेष अभियान सञ्चालन गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्