बैंकका कर्मचारीलाई १३ प्रकारका बिदा, के के हुन् त ?

Machchapuchchre

अर्थ राजनीति । नेपाल राष्ट्र बैंकले यसै हप्ता जारी गरेको कर्मचारी विनियमावलीमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले १३ प्रकारका बिदा पाउने भनेर उल्लेख गरेको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले १३ प्रकारका विभिन्न बिदा पाउने भएका छन् । कर्मचारीहरुले पाउने बिदाका प्रकारमा सार्वजनिक बिदाबाहेक घरबिदा, बिरामी बिदा, भैपरी आउने बिदा, मातृत्व संक्षरण बिदा, प्रसुती स्याहार बिदा, क्रिया बिदा, विशेष बिदा, विवाह बिदा, वार्षिक तथा अनिवार्य बिदा, असाधारण बिदा, अध्ययन तथा तालिम बिदा, संक्रमण रोग लागेमा पाइने बिदा गरी १३ प्रकारका बिदा पाउने निर्देशनमा उल्लेख गरिएको छ ।

  • सार्वजनिक विदा:

बैंक वा वित्तीय संस्थामा लागु हुने सार्वजनिक बिदा हरेक वर्ष समितिले तोके बमोजिम हुनेछ । समितिले बिदा तोक्दा रास्ट्र बैंकले तोकेको बिदालाई मार्गदर्शनको रुपमा लिइने छ ।

  • घर बिदा:

हरेक कर्मचारीले बैंक वा वित्तीय संस्थामा काम गरेको अवधिको १८ दिनको १ दिनका दरले घर बिदा पाउने छन र यस्तो घर बिदा वर्षको २० दिनभन्दा बढी हुने छैन । कुनै कर्मचारीले राजीनामा दिएमा वा स्वास्थ्यको कारणबाट अवाकश पाएमा वा सेवा निवृत्त भएमा वा मृत्यु भएमा वा उपदान पाएमा वा कुनै कारण सेवाबाट छुट्टीएमा निजको संचित घर बिदा वापत निजले खाईपाई आएको तलबभत्ता बराबरको नगद भुक्तानी दिइनेछ । घर बिदा बसेको कर्मचारीले पुरा तलब भत्ता पाउने छन ।

  • बिरामी बिदा:

बैंक तथा वित्तीय संस्थाका कर्मचारीले वर्षमा १२ दिन तलबभत्ता सहितको बिरामी बिदा पाउने भएका छन । बिरामी बिदा संचित गर्न पाइने व्यवस्था मिलाइएको छ । संचित बिरामी बिदावापत कर्मचारीले खाईपाई आएको तलबभत्ताको आधारमा हिसाब गरि कर्मचारीको सेवाबाट अलग भएका बचत वा ४५ दिनभन्दा बढी बिदा संचित भएपछी कर्मचारीले नगद लिन चाहेमा ४५ दिन बिदा संचित राखी बढी दिनको बिदाको रकम एकमुष्ठ रुपमा प्रदान गरिनेछ  ।

  • भैपरी आउने बिदा:

कर्मचारीले वर्षमा १२ कार्य दिन पुरा तलबभत्ता सहितको भैपरी आउने बिदा पाउनेछन । यो बिदा अर्को आर्थिक वर्षको लागि संचित हुने छैन । यो बिदा आधा दिन पनि लिन सकिने व्यवस्था छ । यस्तो बिदा एकपटकमा बढीमा नियमित ३ दिनभन्दा बढी लिन पाइने छैन ।  यो बिदा अरु बिदसंगा जोडिने छैन । भैपरी आउने बिदा गणना गर्दा यस्तो बिदाको बीचमा परेको सार्वजनिक बिदा भने गनिने छैन ।  

  • मातृत्व संरक्षणबिदा:

बैंक तथा वित्त्य संस्थाको सेवामा रहेका महिला कर्मचारीले प्रसुति हुनुभन्दा अगाडी र पछाडी गरि २४ हप्ताको मातृत्व संरक्षण बिदा पाउने छन । यो बिदामा बस्ने महिला कर्मचारीहरुले ६० दिनसम्मको पुरा तलब भत्ता पाउनेछन भने सोभन्दा बढी निजले उपभोग गरेको मातृत्व संरक्षण बिदा निजले पाउने अन्य बिदाबाट कट्टी हुने गरि हिसाब मिलान गर्न सकिने व्यवस्था छ । गर्भवती महिला कर्मचारीले प्रसुति हुने संभावित मितिभन्दा एकसाता अगाडी देखिनै अनिवार्य बिदामा बस्नु पर्ने हुन्छ । यो बिदा कुल सेवा अवधिमा २ पटकसम्म प्रदान गरिने छ । ७ महिना वा सोभन्दा बढी गर्भ रहेको महिला कर्मचारीको शिशु मृत जन्मिएमा वा गर्भपतन भएमा समेत यस विनियम बमोजिम बिदा दिइने व्यवस्था छ । निसन्तान कर्मचारीले छ महिना उमेरसम्मको शिशुलाई कानुन बमोजिमको बिदा सुविधा पर्दान गर्न सकिने व्यवस्था छ । साथै पुरुष कर्मचारीको पत्नीको गर्भ पतन भएको वा मृत शिशु जन्मेको रहेछ भने त्यस्तो कर्मचारीले सम्बन्धित अस्पातल वा स्वास्थ्य चौकीले दिएको सोव्याहोरा पुष्टि हुने मेडिकल रिपोर्ट पेश गरेको अवस्थामा पनि यस विनियम बमोजिमको सुबिधा प्रदान गरिने छ ।

  • प्रसुति स्याहार बिदा:

पुरुष कर्मचारीलाई आफ्नो श्रीमती सुत्केरी भएको अवस्थामा कुल सेवा अबधिमा २ पटकसम्म प्रत्यक पटक २५ दिनका दरले पुरा तलब भत्ता सहितको प्रसुति स्याहार बिदा दिइनेछ । बच्चा जन्मेको १४ हप्ता नपुग्दै शिशुको आमाको मृत्यु भएमा त्यस्तो शिशुको स्याहारका लागी पुरुष कर्मचारीलाई समेत खण्डमा उल्लेख भए बमोजिम बाँकी बिदा औचित्यताको आधारमा दिन सकिनेछ ।

  • क्रिया बिदा:

बैंक वा वित्तीय संस्थामा काम गर्ने कर्मचारीको आमा, बुबा, श्रीमान, श्रीमती, छोरा छोरीको मृत्यु भई आफै क्रिया बस्नुपर्ने भएमा १५ दिनसम्मको क्रिया बिदा पाउने छन । महिला कर्मचारीहरुको हकमा भने चाहि सासु, ससुरा, श्रीमानको मृत्यु भएमा आफै क्रिया बसेको अबधिमा समेत क्रिया बिदा प्रदान गरिने छ ।  यस क्रिया बिदामा बसेको कर्मचारीले पुरा तलब भत्ता पाउने छन ।

  • विशेष बिदा:

कम्तिमा ५ वर्षसम्म बैंक वा वित्तीय संस्थामा सेवा गरेको कुनै पनि स्थायी कर्मचारीले आफ्नो संचित बिदा लिई सकेपछी पनि आफ्नो घरायसी व्यवहार वा बिरामीको कारणले बिदा नबसी नहुने परिस्थिति सिर्जना भएमा एक आर्थिक वर्षमा बढीमा २५ दिनसम्म र नोकरी अबधि भरमा ६० दिनसम्म विशेष विदा दिन सकिन्छ । यस्तो बिदा बेतलबी हुनेछ ।

  • विवाह बिदा:

कर्मचारीलाई निजको विवाहका लागि सम्पूर्ण सेवा अवधि भरमा एकपटक ३ दिनको विवाह बिदा प्रदान गरिने छ । विवाह बिदामा बस्दा बिदाको तलबभत्ता समेत प्रदान गरिने छ ।

  • वार्षिक बिदा:

कर्मचारीलाई वर्षमा न्युनतम ७ दिन कर्मचारी सेवा समितिको सिफारिसमा समितिले तोके बमोजिम पूर्ण सुबिधा सहितको वार्षिक बिदा दिइने छ ।  अनिवार्य बिदा सात दिनभन्दा बढी भएको खण्डमा बढीमा २ पटक गरी दामासाहीले टुक्रा गरेर लिन सकिनेछ । यो बिदामा सार्वजनिक बिदा परे पनि गणना गरिनेछ । यो बिदा संचित गर्न पाइने छैन ।

  • असाधारण बिदा:

सामान्य अवस्थामा कुनै पनि कर्मचारीले असाधारण बिदा पाउने छैन । तर मनासिव कारणसहित अनुरोध भई व्यवस्थापनले उचित ठानेमा कर्मचारी सेवा सुविधा समितिको सिफारिसमा समितिले कम्तिमा १० वर्ष स्थायी सेवा पूरा गरेका कर्मचारीहरुलाई बढीमा १ वर्षसम्म असाधारण बिदा प्रदान गर्न सक्नेछ । उक्त बिदामा बसेको कर्मचारीलाई तलब भत्ता तथा सुविधा दिइने छैन । यो अवधिलाई सेवा अवधिमा गणना गरिने छैन । विशेष बिदालगायत अन्य संचित बिदा बाँकी नरहेको स्थितिमा मात्र असाधारण विदा प्रदान गर्न सकिनेछ ।

  • अध्ययन बिदा:

बैंक वा वित्तीय संस्थामा ३ वर्ष स्थायी सेवा गरेका कर्मचारीले समितिले तोकेको सर्त बन्देजको अधीनमा रहने गरी संस्थागत वा आफ्नै प्रयासमा स्वदेश वा विदेशमा अध्ययन गर्न चाहेमा नोकरी अवधिभरमा एक पटक वा पटक पटक गरी बढीमा ५ वर्षसम्मको आधा तलब पाउने गरी अध्ययन बिदा पाउन सक्नेछ । बैंक वा वित्तीय संस्थाले आफ्नो आवश्यकता अनुसार कर्मचारीलाई तलव भत्ता, सुविधा समेत प्रदान गर्ने गरी तालिममा पठाउन सक्नेछ ।

  • संक्रामक रोग लागेमा बिदा:

कुनै कर्मचारीलाई संक्रामक रोग लागी उपचार गराउनु परेमा उपचार अवधिभर काममा नआउन र बिदामा बस्नका लागि बिदा स्वीकृत गर्ने अधिकारीले निर्देशन दिन सक्नेछ । कुनै कारणले त्यस्तो कर्मचारीको बिरामी बिदा बाँकी नभएमा अन्य बिदा स्वीकृत गर्न वा वेतलबी बिदामा पठाउन सकिनेछ । बिदामा बसेको कर्मचारीलाई काममा लगाउन सकिने व्यवस्था पनि विनियमावलीमा उल्लेख छ । क्रिया बिदा, मातृत्व तथा प्रसुती स्याहार बिदा, अनिवार्य घर बिदा र बिरामी बिदामा बसेको कर्मचारीलाई बाहेक अन्य बिदा स्वीकृत गराई बसेका कर्मचारीलाई बैंक वा वित्तीय संस्थाले आवश्यकता अनुसार बोलाई काममा लगाउन सक्नेछ । यसरी बिदाको अवधिको बीचमै बोलाई काममा लगाएको अवस्थामा बाँकी दिनको बिदा संचित गर्न सकिनेछ । यसरी काम गरेवापत निजलाई सट्टा बिदा वा तलब भत्ता बरावरको रकम दिनुपर्ने विनियमावलीमा उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्