भारतले भाेली आइतबारदेखि सीमानाका बन्द गर्दै, नेपालीलाई समस्या पर्छ कि पर्दैन ?

Machchapuchchre

कोरोना भाइरसको विश्वव्यापी महामारी रोक्न भारतले आइतबार राति १२ देखि लागू हुने गरी नेपाल, भुटान, बंगलादेश र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको छ । भारतीय गृह मन्त्रालयको फरेनर्स डिभिजनअन्तर्गतको अध्यागमन सेक्सनका तर्फबाट उपसचिव समिम अहमदद्वारा शुक्रबार साँझ जारी सूचनामा नेपालीहरूको आवतजावत प्रभावित नहुने स्पष्ट पारिएको छ । भारतले नेपालका चारसहित चार मुलुकका २० नाकाबाट विदेशी यात्रुहरूको आवागमन बन्द गर्नेछ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क मुलुकका नेतृत्वबीच कोरोना नियन्त्रणका लागि कठोर रणनीति तय गर्न सहकार्य गर्नुपर्ने धारणा सार्वजनिक गरेकै दिन भारतले नेपाली र भुटानी नागरिकबाहेकका लागि सबै सीमानाका बन्द गरेको हो । नेपाल जोडिएका उत्तराखण्डको बनबासा, उत्तर प्रदेशको सुनौली, बिहारको रक्सौल र पश्चिम बंगालको रानीगन्ज नाकाबाट अनिश्चितकालका यात्रु ओहोरदोहोर बन्द गरिने उल्लेख छ ।

भारतीय कूटनीतिक स्रोतका अनुसार नेपालबाट भारत जाने तेस्रो मुलुकका यात्रुलाई मात्रै बन्देज लगाइएको हो । नेपाली नागरिकको हकमा यसले फरक पर्दैन । यो नियम कार्यान्वयनका क्रममा आइतबारदेखि आउने जटिलतालाई छलफलका आधारमा समाधान गर्ने बचन भारतले नेपाली कूटनीतिक च्यानललाई जानकारी दिएको छ । अर्जुन अधिकारी र पर्शुराम काफ्लेले नया पत्रिकामा समाचार लेखेका छन् ।

भारतद्वारा जारी सातबुँदे सूचनाको चौथो बुँदामा भनिएको छ, ‘नेपाल र भुटानका सीमा नाकाहरूका सन्दर्भमा हवाईमाध्यमबाट वा उल्लेखित (बनबासा, सुनौली, रक्सौल र रानीगन्ज) नाकाहरूको एकीकृत जाँचबाट आवागमनमा यो नियमले केही प्रभाव पार्ने छैन । यी नाकामा स्वास्थ्य जाँचको बन्दोबस्त गरिएको पनि भारतीय सूचनामा उल्लेख छ । भारतले यो जानकारी कूटनीतिक च्यानलमार्फत नेपाललाई दिइसकेको पनि बुझिएको छ ।

शुक्रबार जारी सूचना बनबासा, सुनौली, रक्सौल र रानीगञ्ज नाकाबाट मात्रै नेपाली र भारतीय नागरिकको आवागमन हुनुपर्नेछ । नेपालले भारतलाई जोगबनी र रुपेडिया नाकाबाट पनि आवागमनका लागि सहयोग गर्न कूटनीतिक च्यानलमार्फत आग्रह गरेको छ । यीबाहेकका नाकाबाट नेपाली र भारतीय नागरिकलाई ओहोरदोहोरका लागि कोरोना नियन्त्रण नभइन्जेलका लागि रोक लगाइनेछ । कूटनीतिक स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘नेपाली र भारतीय नागरिकलाई एकअर्को देशमा आवतजावतका लागि अहिले चार नाका तोकिएको छ । थप दुई नाकाका लागि नेपालले पहल गरेको छ । दुवै देशका नागरिकले परिचयपत्र बोक्नुपर्ने छ र सीमानाकामा अनिवार्य स्वास्थ्य जाँच गराउनुपर्नेछ ।

भारतले बिहीबार सबै पर्यटक भिसा बन्द गरेको थियो भने नेपालीहरूको आवतजावत यथावत् हुने स्पष्ट पारेको थियो । नेपाल–भारत नाकाबाट विदेशी नागरिकको प्रवेश बन्द गरेको तथा ३ फागुनपछि इटाली, इरान, चीन, दक्षिण कोरिया, स्पेन, फ्रान्स र जर्मनी पुगेर भारत फर्केकालाई १४ दिन क्वारेन्टाइनमा राख्ने पनि सूचनामा उल्लेख छ । यी देशमा कोरोना भाइरस फैलिएको भन्दै भारतले आवतजावत र उडान बन्द गरिसकेको छ ।

आसाम, बिहार, मेघालय, मिजोरम, त्रिपुरा, उत्तरप्रदेश, उत्तराखण्ड र पश्चिम बंगाल राज्यसँग नेपाल, भुटान, बंगलादेश र म्यानमार जोडिएका छन् । बंगलादेश र म्यानमारका नाकाबाट त्यहाँका नागरिकको आवागमन भारतले बन्द गर्नेछ । भारतले स्थलमार्गका अध्यागमनबाट सबै भिसा (नेपाली र भुटानीबाहेकका नागरिकलाई) बन्द गरिसकेको छ । सीमावर्ती हाटबजारमा विदेशीहरूको आवागमनलाई भारतले रोक लगाएको सूचनामा उल्लेख छ ।

देशभरिका जेलमा सतर्कता, भेटघाटमा कडाइ
कोरोना भाइरस संक्रमणमा जोखिमका कारण देशभरिका कारागारमा सतर्कता बढाइएको छ । जेलभित्र एकजनालाई संक्रमण भएमा केही दिनमै धेरैलाई फैलन सक्ने भएकाले भेटघाटमा कडाइ गरिएको छ । कारागार व्यवस्था विभागले देशभरिका जेलमा यससम्बन्धी सतर्कता बढाएको छ ।

‘तत्कालका लागि कैदी/बन्दीहरूको सरुवा रोकेका छौँ,’ कारागार व्यवस्था विभागका निमित्त महानिर्देशक देवेन्द्र लामिछानेले भने, ‘भेटघाटमा पनि कडाइ गरिएको छ ।’ कैदी/बन्दीलाई भेट्न जाने उनीहरूका आफन्तहरूलाई मास्क तथा पन्जा प्रयोग गर्न लगाइने उनले बताए ।

अत्यावश्यक कामबाहेक भेटघाटमा जेल प्रशासनले कडाइ गरेको छ । जेलहरूमा थर्माेमिटरगन तथा स्यानिटाइजरलगायत स्रोत र साधनको भने अभाव रहेको निमित्त महानिर्देशक लामिछानेले बताए । भाइरस संक्रमणको जोखिमका कारण इरानमा केही समयका लागि कैदीहरूलाई रिहा गरिएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरेको र दुवै छिमेकी देशमा संक्रमण भएकाले नेपाल सरकारले समेत यसविरुद्ध सतर्कता बढाएको हो ।

भारतको प्रस्तावमा नेपालको स्वागत
प्रधानमन्त्री केपी ओलीले सार्क मुलुक मिलेर कोरोना भाइरसविरूद्ध रणनीति बनाउने मोदीको प्रस्तावको स्वागत गरेका छन् । मोदीको ट्विटको जवाफमा ओलीले ट्विट गरेका छन् । ‘मेरो सरकार हाम्रा जनतालाई प्राणघातक यो रोगबाट बचाउन सार्क सदस्य मुलुकसित नजिकबाट काम गर्न तयार छ,’ उनले लेखेका छन् । सार्कका ६ वटै राष्ट्रले मोदीको प्रस्तावको स्वागत गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्