कोरोना भाइरस संक्रमण – इटालीमा थप ४१ को मृत्यु, मर्नेको संख्या १४८ पुग्‍यो

Machchapuchchre

एजेन्सी । कोरोनाभाइरसको संक्रमणबाट इटालीमा पछिल्लो समय बिहीबार थप ४१ जनाको मृत्यु भएको छ। योसँगै इटालीमा यसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ। यो कोरोनाभाइरसको सर्वाधिक चपेटामा परेको चीनबाहिर भएको सबैभन्दा ठूलो क्षति हो।

संसारभर हालसम्म ३ हजार जनाको कोरोनाभाइरसको संक्रमणबाट ज्यान गइसकेको छ भने ९५ हजार मामिलाहरू दर्ता भएक छन्। इटालीका सम्पूर्ण २२ क्षेत्रमा यसको संक्रमण फैलिएको पुष्टि भएको छ। संक्रमणसँग जुध्न रोमले ८.४ विलियन अमेरिकी डलरको उद्धार योजना अघि सारेको छ। उसले देशभरका स्कूल कलेजसमेत बन्द गरेको छ।

यसैगरी बेलायतमा पनि भाइरसको संक्रमणबाट भएको मृत्युको पहिलो मामिला सार्वजनिक भएको अलजजिराले जनाएको छ। सो मृत्यु बिहीबार भएको हो। यस्तै बोस्निया हर्जगोभिना, स्लोभानिया र दक्षिण अफ्रिकामा पनि यसका संक्रमित भेटिएको पुष्टि भएको छ।

यता सात जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि इजरेल तथा प्यालेस्टाइन प्रशासनले बेथ्लिहम नगरलाई क्वारन्टीनमा राख्ने निर्णय गरेका छन्। शुक्रवार रातिदेखि न प्यालेस्टिनी न त इजरेलीहरू उक्त सहर छाड्न वा त्यहाँ आउन पाउनेछन्। यो निर्णय अर्को सूचना जारी नभएसम्मका लागि लागु हुनेछ।

इजरेली रक्षामन्त्रीले प्यालेस्टिनी अधिकारीहरूसँगको समन्वयमा त्यसलाई कार्यान्वयन गर्न इजरेली सेनालाई आदेश दिएका छन्। यसअघि बेथ्लिहेमस्थित एउटा गिर्जाघर बन्द गरिएको थियो। प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले कोरोनाभाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि वेस्ट ब्याङ्कमा एक महिने सङ्कटकाल घोषणा गरेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्