सबै मिले तीन दशकदेखि अलपत्र पश्चिम सेती बन्न १० वर्ष पनि लाग्दैन : देउवा

Machchapuchchre

कैलाली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले झन्डै तीन दशकदेखि अलपत्र पश्चिम सेती जलविद्युत आयोजना नेपाल आफैंले बनाउनुपर्ने बताएका छन् ।

सबै राजनीतिक दल एक भए बन्न १० वर्ष पनि नलाग्ने उनको दाबी छ । धनगढीमा भएको विश्व नेपाली साहित्य महोत्सवको समापन कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘सबै पार्टी एक भए पश्चिम सेती १० वर्षमै बन्न सक्छ । त्यसले सुदूरपश्चिमलाई धनी बनाउँछ ।’

पश्चिम सेतीको लागि सुदूरपश्चिम प्रदेशका सबै नागरिकले सेयर लगानी गर्न सक्ने समेत उनले बताए । ‘सुदूरपश्चिमका जनता धनी भइसके । विदेशी ल्याउने कामै छैन’ उनले भने, ‘नेपाल आफैंले बनाउने, अनि नाफा पनि आफैं लिने हो ।’

आयोजना निर्माणका लागि जग्गाको समस्या भए सेयर बाढ्ने अथवा पैसा दिन सकिने उनले बताए । ७५० मेगावाटको पश्चिम सेती बने त्यहाँबाट उत्पादन हुने बिजुली केही यहाँका जनताले पाउने र केही भारतलाई बेच्नुपर्ने उनले बताए ।

फरक प्रसंगमा उनले सुदूरपश्चिमको भाषा हराउँदै गएको चिन्ता समेत व्यक्त गरे । ‘हाम्रो सुदूरपश्चिमका भाषा हराउँदै गएको छ । यहाँका मान्छेले हाम्रो भाषा बोल्नै छोडेका छन्, कांग्रेस सभापति देउवाले भने, ‘आजभोलि अंग्रेजी बोल्छन् ।’

देउवाले प्रदेशको भाषा लोप हुन नदिन आग्रह गरे । उनले भने, ‘भाषा महत्वपूर्ण हो, यो छोड्न हुँदैन । हाम्रो प्रदेशको भाषा पनि संरक्षण गर्न आवश्यक छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्