सीटीईभीटीको कार्यशैलीप्रति असन्तुष्ट मन्त्री पोखरेल, भन्छन- जागिर खाने थलोमात्रै बन्यो

Machchapuchchre Bank

भक्तपुर- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) जागिर खाने थलो मात्रै बनेको बताएका छन् । सीटीईभीटीको ३२औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा सोमबार सानोठिमीमा मन्त्रो पोखरेलले सीटीईभीटीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सीटीईभीटी जागिर खाने थलोमा मात्रै परिणत भएको बताए ।

नामअनुसारले सीटीईभीटीले काम गर्न नसकेको भन्दै उनले करारमा कर्मचारी भर्ना गर्ने, जागिर खाने र बस्ने मात्रै सीटीईभीटीको काम हो भनी प्रश्नसमेत गरे । सीटीईभीटीका अध्यक्षसमेत रहेका मन्त्री पोखरेलले सीटीईभीटीले पर्याप्त जनशक्ति उत्पादन गर्न नसकेकामा चिन्ता व्यक्त गरे । उनले भने, ‘सीटीईभीटीले गुणस्तरीय जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता गरे पनि पर्याप्त जनशक्ति उत्पादन गर्न सकेको छैन, के सीटीईभीटी जागिर खाने थलोमात्रै हो ?’

सीटीईभीटीले अहिलेसम्म निजी क्षेत्रलाई अस्थायी सम्बन्धन दिँदै आए पनि त्यो सम्बन्धन स्थायी बनाउनेतर्फ चासो नदिएको उनको भनाइ थियो । उनले निजी क्षेत्रसँगको सम्बन्धन स्थायी नभएकाले सीटीईभीटीले गुणस्तरीय र आवश्यकतानुसार जनशक्ति उत्पादन गर्न नसकेको बताए ।

सीटीईभीटीमाथि जहिले पनि मन्त्रालयले हस्तक्षेप गर्‍यो, काम गर्न दिएन भनेर अनावश्यक आरोप लगाउने गरिएको भन्दै मन्त्री पोखरेलले भने, ‘जहिले पनि सीटीईभीटीलाई मन्त्रालयले हस्तक्षेप गर्‍यो भन्ने ? तपाईहरु भन्न सक्नुहुन्छ, मेरो सचिवालयले कुन–कुन घटनाक्रममा कहिले–कहिले हस्ताक्षेप गरेको छ ? मैले अहिलेसम्म एउटा पनि निजी संस्थालाई सम्बन्धन दिएको छैन ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्