बाँस्कोटामाथि कारबाही नभएसम्म कांग्रेसले संसद् चल्न नदिने

Machchapuchchre Bank

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ मेसिनमा निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको अडियो सार्वजनिकलगत्तै बिहीबार विपक्षी कांग्रेसले राष्ट्रियसभा अवरुद्ध गर्‍यो। सोही समयमा बोलाइएको प्रतिनिधिसभा बैठक बस्ने कि नबस्ने भन्ने अनिश्चित थियो। कांग्रेसले प्रतिनिधिसभामा पनि अवरोध गर्ने स्पष्ट गरिसकेपछि नेकपाका नेता अन्योलमा परे। यस्तै बाँस्कोटाको राजीनामा आउँछ कि आउँदैन भन्ने दुविधा त छँदै थियो।

राष्ट्रियसभा अवरोध हुँदा अर्थमन्त्री डा. युवराज खतिवडाले बाँस्कोटाको राजीनामा आउने संकेत सञ्चारकर्मीसँग गरे। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलगायत नेकपा नेतासँग संसद् परिसरमै कुराकानी गरेपछि मन्त्री डा. खतिवडाले भने, ‘यो सबैको चासोको विषय हो। पार्टी र सरकारले अध्ययन गरिरहेका छन्।’

कांग्रेस नेता भने बाँस्कोटाको राजीनामा माग गर्दै सञ्चारमाध्यमलाई प्रतिक्रिया दिइरहेका थिए। कांग्रेसका गगन थापाले कसिमन माग काण्डमा प्रधानमन्त्रीको संलग्नता छैन भन्ने पुष्टि नभएकाले प्रधानमन्त्रीले पनि जवाफ दिनुपर्ने बताए।

नेकपा नेता लालबाबु पण्डितले प्रश्न उठिसकेकाले बाँस्कोटाले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने बताए। ‘अडियो सार्वजनिक भइसकेकाले छानबिन हुनुपर्छ, दोषी भए कारबाही भोग्नुपर्छ’, पूर्वमन्त्री पण्डितले भने। कानुनमन्त्रीबाट नैतिकताका आधारमा राजीनामा दिएका शेरबहादुर तामाङले पनि बाँस्कोटाले राजीनामा दिनुको विकल्प नभएको प्रतिक्रिया दिए।

बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा दिएपछि दिउँसो ३ बजे सुरु भएको प्रतिनिधिसभा बैठकमा कांग्रेसले अवरोध गर्‍यो। सञ्चारमन्त्रीबाट राजीनामा दिएर मात्र नपुग्ने भन्दै कांग्रेसले बाँस्कोटामाथि कारबाही नभएसम्म संसद् अवरोध फिर्ता नलिने अडान राख्यो। सभामुख अग्निप्रसाद सापकोटाले उक्त काण्डमा सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा दिइसकेको जानकारी गराउँदा पनि कांग्रेसले अवरोध फिर्ता लिएन।

बाँस्कोटाको राजीनामा माग्दै कांग्रेसले बिहीबार प्रतिनिधिसभामा अवरोध गरेको थियो। सभामुख सापकोटाले बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिइसकेकाले अवरोध फिर्ता लिन कांग्रेसलाई आग्रह गरेका थिए। तर, कांग्रेसले मन्त्रीबाट राजीनामा दिँदैमा बाँस्कोटाले उन्मुक्ति पाउन नहुने भन्दै छानबिन गरेर कारबाही गर्नुपर्ने माग गर्‍यो।

कांग्रेस सचेतक पुष्पा भुसालले बाँस्कोटाले राजीनामा दिएर मात्र नपुग्ने भन्दै उक्त घुस काण्ड छानबिन गरी बाँस्कोटामाथि कारबाही नभएसम्म कांग्रेसले संसद् अवरोध जारी राख्ने बताइन्। बाँस्कोटालाई पदबाट बर्खास्त गर्नुपर्ने र निष्पक्ष छानबिन हुनुपर्ने माग उनको थियो। प्रधानमन्त्री ओलीले अब्बल भनी प्रचार गरेका बाँस्कोटा एक्लैले त्यति ठूलो रकम कमिसन माग्न नसक्ने भुसालको भनाइ थियो। ‘भ्रष्टाचार गर्नलाई मन्त्रीलाई अब्बल दर्जा दिइएको हो ? ’ भुसालले भनिन, ‘छानबिन गरेर कारवाही गर्ने प्रतिबद्धता आउनुपर्‍यो।’ प्रधानमन्त्री ओलीले आफ्नालाई काखी च्याप्न नहुने उनले बताइन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्