बुर्किना फासोमा गिर्जाघर नजिक बन्दुकधारी समूहको आक्रमण, कम्तीमा २४ जनाकाे मृत्यु

Machchapuchchre

वागाडुगू । अफ्रिकी मुलुक बुर्किना फासोमा रहेको एक प्रोटेष्टेन्ट गिर्जाघर नजिक बन्दुकधारीको समूहले गरेको आक्रमणमा कम्तीमा २४ जना मारिएका छन् । नाइजरसँग सीमा जोडिएको याघा प्रान्तस्थित पान्सी गाउँमा रहेको गिर्जाघरमा बन्दुकधारीले आक्रमण गरेका हुन् ।

आक्रमणमा मारिनेमा गिर्जाघरका पादरी समेत रहेको जनाइएको छ । मारिनेमा इसाईसहित इस्लाम धर्मावलम्बी समेत रहेको अधिकारीले जनाएका छन् । त्यसबाहेक आक्रमणकारीले अरु तीनजनालाई अपहरण गरी भागेका थिए । आक्रमणमा अरु १८ जना घाइते भएका छन् ।

२० जनाको समूहमा आएका आक्रमणकारीले उक्त गिर्जाघरनजिकै मानिसहरुको समूहबाट महिला र पुरुषलाई छुट्याएको र पुरुषको समूहलाई लक्षित गरी गोली प्रहार गरेका थिए । त्यसपछि आक्रमणकारीले गाउँमा लुटपाट मच्चाएका थिए । लुटपाटका क्रममा उनीहरुले स्थानीय पसलबाट तेल र खानेकुरा लुटेर लगेका थिए । यसक्रममा उनीहरुले लुटिएको सामान लादेर लैजानका लागि तीनजना युवालाई समेत अपहरण गरेका थिए ।

आक्रमणमा घाइते भएकाहरुको घटनास्थलबाट १८० किलोमिटर टाढा रहेको अस्पतालमा उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साहारा मरुभूमिको दक्षिणी किनारमा रहेको बुर्किना फासोमा यसअघि पनि यस्तै किसिमका आक्रमणहरु हुँदै आएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्