पहिलो चरणको दादुरा-रुबेलाविरुद्धको खोप अभियान आजबाट ३४ जिल्लामा सञ्चालन हुँदै

Machchapuchchre

काठमाडौं । आजबाट दादुरा–रुबेला विरुद्धको खोप अभियान शुरु गरिँदैछ । सरकारले दादुरा र रुबेला रोग विरुद्धको खोप अभियान कार्यक्रम दुई चरणमा गर्ने यसअघि नै जानकारी दिइसकेको छ । सरकारले पहिलो चरणमा फागुन एक गते देखि ३० गतेसम्म एक महिना र दोस्रो चरणमा चैत एक गतेदेखि ३० गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको परिवार कल्याण महाशाखाले जानकारी दिएको हो ।

महाशाखाको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर झलक गौतमका अनुसार पहिलो चरणमा फागुन महिनाभर प्रदेश १,२ र ५ का ३४ जिल्लामा र दोस्रो चरणमा प्रदेश ३, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका ४३ जिल्लामा चैत महिनाभर दादुरा रुबेला खोप अभियान सञ्चालन हुनेछ । यस्तै तराईका १९ जिल्लाहरुमा जन्मेदेखि ५ वर्ष मुलिका बालबालिकालाई पोलियो थोपा समेत खुवाइने उनको भनाइ छ ।

सरकारी योजना अनुसार दादुर र रुबेला ९ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिमालाई दिइदै छ । दुई चरणमा गरी देशभरका ३० लाख बालबालिकामा यो खोप दिइने बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जनाएको छ । यस्तै जन्मेदेखि ५ वर्ष मुनिका १५ लाख बालबालिकालाई पोलियो खोप दिइदै छ । खोप अभियानमा ९ हजार स्वास्थ्यकर्मी, १ लाख स्वायंसेवक परिचालन हुने छन् ।

दादुरा र रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्न देशभर ८ हजार तालिमप्राप्त स्वस्थ्यकर्मी परिचालन गर्ने तयारी गरेको छ । यस्तै ५ हजार ५ सय जना स्थानिय सुपरिवेक्षक पनि परिचालन हुनेछन् । सरकारले खोप अभियानका लागि ४९ हजार खोप केन्द्र स्थापना गर्ने र करिव एक लाख स्वयंसेवक परिचालन गरिनेछन् ।

बालबालिकालाई किन लागाउने खोप ?
खोप एक जैविक तयारी वस्तु हो । जसको प्रयोगबाट व्यक्तिको शरिरमा सम्बन्धित रोगका विरुद्ध लड्न सक्ने प्रतिरोधात्मक क्षमताको बिकास गराउँछ । जसका कारण व्यक्तिलाई विभिन्न विषाणु र जिवाणुबाट हुने रोगबाट बचाउँन सकिन्छ । खोपको प्रयोगले, रोगको उन्मुलन (बिफर), निवारण (नवशिशु धनुष्टंकार) र नियन्त्रण (जापानिज इन्सेफलाईटिस) गर्न सकिन्छ ।

विश्वभर प्रत्येक बर्ष खोपले करिब २० देखि ३० लाख बालवालिकालाई मृत्युबाट बचाउने गरेको बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जनाएको छ । अहिले उपलब्ध खोपको प्रभाबकारी प्रयोग भएमा, थप २० लाख बालवालिकालाई बचाउँन सकिने बाल स्वास्थ्य तथा खोप सेवा शाखाको दावी छ । विश्बका अर्थशास्त्रीहरुले विश्व कल्याणका लागत प्रभाबकारी ३० बटा उत्कृष्ट उपाय मध्ये खोपलाई चौथो नम्बरमा राखेका छन् । खोपमा हुने १ डलर लगानि वापत औसतमा करिब ४४ डलर (२७ देखि ६७ डलर सम्म) फाइदा हुन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्