नेकपाको एमसीसी कार्यदलको म्याद आज सकिँदै, कति छ पुनः म्याद थपिने सम्भावना ?

Machchapuchchre

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी अनुदानअन्तर्गत मिलेनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौताबारे अध्ययन गर्न बनेको कार्यदलको समयसीमा आज (बुधबार) सकिँदैछ । गत माघ १९ गते नेकपा केन्द्रीय कमिटीको बैठकको निर्णयानुसार वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

कार्यदललाई १० दिनको समयसीमा तोकिएको थियो । कार्यदलका सदस्यहरुले भने यो १० दिनको अवधिमा अध्ययनका लागि समय लागेको र प्रतिवेदन तयार पार्न समय नपुगेको भन्दै नेतृत्वसँग थप १० दिन समय माग्ने तयारी भएको जनाएका छन् ।

कार्यदलको मंगलबार बसेको बैठकले प्रतिवेदन तयार पार्न थप समय माग्ने निर्णय गरेको थियो । अध्ययन सामग्री जुटाएर अध्ययन गर्न समय लागेको र प्रतिवेदन लेखनका लागि समय माग्ने निर्णय गरिएको जनाइएको छ । कार्यदलले थप समय माग्ने निर्णय गरेपनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने कार्यदलको म्याद थप्ने मुडमा छैनन् । ओलीले सोझै संसदमा प्रस्ताव लैजाने तयारी थालेका छन् ।

एमसीसी संसदबाट अनुमोदन नभइ कार्यान्वयन नहुने र यसको समयावधि गुज्रदै गएका कारण सोझै संसदमा प्रस्ताव लैजाने सोचमा प्रधानमन्त्री ओली पुगेका उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले यही हप्ता सभामुख अग्निप्रसाद सापकोटालाई एमसीसीको प्रस्ताव टेबुल गर्न आग्रह गर्ने सम्भावना रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्