एकैपटक २ सय बढीलाई बिरामी बनाउने रुघाखोकी जाँच्न मन्त्रालयको टोली सिन्धुपाल्चोक प्रस्थान

Machchapuchchre

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ज्वरो, रुघाखोकी र झाडापखालाको विरामी बढेपछि स्वास्थ्य मन्त्रालयको टोली जाँच गर्न त्यसतर्फ गएको छ । जुगल गाउँपालिका स्वास्थ्य शाखाका संयोजक अनिल साउदका अनुसार स्वास्थ्य मन्त्रालयको टोली बुधबार साँझसम्म आइपुग्ने बताए ।

उनले भने, ‘बिरामी औषधि खाएर निको भएका पनि छन् तर अस्वाभाविक रुपमा धेरै भएपछि हामीले उहाँहरुलाई बोलाएको हो । उहाँहरुले कोरोना हो वा होइन जाँच गर्ने भन्नुभएको छ ।’ सिन्धुपाल्चोकको बिरामीको अवस्था सुन्दा कोरोना नभएको भन्ने देखिए पनि शंका निवारण गर्न स्वास्थ्यकर्मीको टोली बिरामी रहेको गाउँमा पठाउने उनले बताए ।

सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा १ सय बढी बिरामी भेटिएका हु न् । यस्ता बिरामी भेटिएपछि गाउँपालिकाले पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको थियो ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएका हुन् । गाउँपालिकाका अनुसार गाउँपालिका–३ को गुम्बाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी भेटिएका छन् । संक्रमित भेटिएको स्थान चीनसँगको सीमानजिकै पर्छ । यद्यपि, चीनसँग आवतजावत गर्ने बाटो भने त्यहाँ छैन ।

गुम्बाबस्तीका करिब १०० जनामा कोरोना भाइरसका बिरामीमा जस्तो लक्षण देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर बिकले अनलाइनखबरलाई जानकारी दिए । बिकका अनुसार, स्थानीय स्वास्थ्य चौकीको सम्पर्कमा पुगेका त्यस्ता बिरामीले औषधि सेवन गरे पनि निको भएको छैन । संक्रमित सबै बिरामी घरमै रहेको उनले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्