प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार, कुराकानी गर्न सक्ने अवस्थामा फर्किए

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । उनी बोल्न सक्ने अवस्थामा छन् । आज (बुधबार) बिहान १०:३० मा अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र अहिले राम्रोसँग कुराकानी गर्ने अवस्थामा रहेको जनाइएको छ ।

स्वास्थ्यमा सुधार आएसँगै मुटुको चाल पनि सामान्य बन्दै गएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनको होस आएपनि अझै केही दिन सघन उपचार कक्षमै राखेर उपचार गरिने चिकित्सकहरुले जनाएका छन् । यसअघि हिजो दिउँसो उनको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

सोमबार राति पेट दुखेकाले उनलाई हिजो बिहान ९ बजे शिक्षण अस्पताल लगिएको थियो । परीक्षणका क्रममा एपेन्डिसाइटिस भएको थाहा भएपछि प्रधानमन्त्रीको शल्यक्रिया गरिएको हो । प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहार प्रा डा अरुण सायमी, निजी चिकित्सक डा दिव्यासिंह शाह र डा।रमेश सिंह भण्डारीको टोलीले उनको शल्यक्रिया गरेको हो ।

यसअघि प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएका कारण कात्तिक र मंसिर महिनामा मात्रै चार पटक डायलासिस गरिसकेको छ । उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारी पनि भइरहेको छ । प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्