क्यानडाका सभामुख नेतृत्वको टोलीद्वारा राष्ट्रियसभाको अवलोकन

Machchapuchchre

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निमन्त्रणामा नेपाल भ्रमणमा रहेको क्यानडाको उपल्लो सदन(सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डले सोमबार राष्ट्रियसभाको अवलोकन गरेको छ ।

राष्ट्रियसभाको बैठकको सुरुमै अध्यक्ष गणेश तिमिल्सिनाले नेपाल भ्रमणमा रहेको क्यानडाको उपल्लो सदन(सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डललाई बैठकमा स्वागत गरेका थिए ।

जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले विशिष्ट दिर्घामा बसेर राष्ट्रियसभा सञ्चालनको अवलोकन गरेको थियो । सोमबारको बैठकमा दलीय आधारमा बोल्दै राष्ट्रियसभाका सदस्यले फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलको स्वागतार्थ मन्तव्य दिएका थिए । राष्ट्रियसभाका सदस्यहरुले नेपाल र क्यानडाको कतिपय राजनीतिक विशेषता उस्तै प्रकारका रहेका उल्लेख गर्दै एक अर्काबाट धेरै कुरा सिक्न सकिने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा संसदीय दलका नेता दीनानाथ शर्माले नेपाल र क्यानडाको दौत्य सम्बन्ध कायम भएको ६५ वर्ष पुगेको स्मरण गर्दै दुई देशको राजनीतिक विशेषता धेरै हदसम्म मिल्ने उल्लेख गरे । उनले क्यानडामा संवैधानिक राजतन्त्र र नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र भए पनि अन्य धेरै व्यवस्था एकै खालको रहेको बताए ।

दुवै देशमा दुई सदनात्मक व्यवस्था र बहुदलीय राजनीतिक प्रणालीको व्यवस्था छ । सांसद शर्माले लोकतान्त्रिक मूल्य मान्यताका अन्तरराष्ट्रिय मापदण्डलाई समेटेर नेपालको संविधान जारी भएको जानकारी गराउँदै क्यानडामा पनि लोकतान्त्रिक मूल्य मान्यता कायम रहेको चर्चा गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्