पद सम्हालेको चार दिन नबित्दै महाराष्ट्रका मुख्यमन्त्रीद्वारा राजीनामा

Machchapuchchre

भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनाविसले राजीनामा दिएका छन्। तीन दिनअघि मुख्यमन्त्रीको सपथ लिएका फडनाविसले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन्। यसअघि आजै भारतको सर्वोच्च अदालतले उनलाई बुधबारसम्म विधान सभामा बहुमत देखाउन आदेश दिएको थियो।

राजीनामा दिँदै फडनाविसले आफूहरूले कहिल्यै पनि शिवसेनालाई मुख्यमन्त्री दिने कुरा नभएको तर पछि चुनावी परिणाम आइसकेपछि बखेडा झिकेको बताए। अक्टोबर २१ मा २८८ सिटका लागि भएको विधानसभा निर्वाचनमा भाजपाले १०५ सिट ल्याएको थियो। शिव सेनालाई मुख्यमन्त्री दिने वाचा गरेर गठबन्धन गरेको भाजपा चुनाव पछि भने मुख्यमन्त्री आफ्नै पार्टीको हुने बताएको थियो।

त्यसपछि भाजपा र शिव सेनाको गठबन्धन टुटेको थियो। भाजपाले सरकार बनाउन नसक्ने भएपछि हतारमा राज्यपाल भगतसिंह कोशीयारीले राष्ट्रपति शासनको सिफारिस गरेका थिए। नोभेम्बर १२मा प्रदेशमा राष्ट्रपति शासन लागू भएको थियो। त्यसपछि ५६ सिट भएको सेना,५४ सिट भएको राष्ट्रवादी कांग्रेस(एनसिपी) र ४४ सिट जितेको कंग्रेसले शुक्रबार साँझ सेनाका उद्धव ठाकरेको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेका थिए।

तर भाजपाले एनसिपीका संसदीय दलका नेता अजित पवारलाई हात लिएर रातारात सरकार बनाएको थियो। शनिबार मध्यरातपछि राज्यपाल कोशियारीले भाजपा र एनसिपीलाई सरकार बनाउन आमन्त्रण गर्दै गुपचुपमा आइतबार बिहान राष्ट्रपति शासन फिर्ता गर्न सिफारिस गरी एकाबिहानै फडनाविसलाई मुख्यमन्त्री र पवारलाई उपमुख्यमन्त्रीको शपथ गराएका थिए। विपक्षी दलहरुले यी सबै कुरा आइतबार बिहान शपथ ग्रहण गरेपछि मात्रै थाहा पाएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्