जेलनेल भोगेको थारुको छोरोलाई फसाइनु गलत – कांग्रेस प्रवक्ता शर्मा

Machchapuchchre

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको प्रभावमा परेर अख्तियारले उपसभापति विजयकुमार गच्छदारमाथि विशेष अदालतमा मुद्दा हालेको आरोप लगाएको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मु’द्दालाई पूर्वाग्रहपूर्ण र राजनैतिक वदनियतले प्रेरित रहेको बताएका हुन् ।

‘पिछडिएको थारु समुदायको प्रतिनिधित्व गर्दै लोकतन्त्रका लागि उहाँले लामो समय जेलनेल भोग्नुभयो,’ प्रवक्ता शर्माले भने, ‘उहाँ २०४८ सालबाट निरन्तर जनताबाट निर्वाचित प्रतिनिधि पनि हो । एउटै मुद्दामा कसैलाई उन्मुक्ति दिने तर कसैलाई फसाउन खोज्ने राज्यको दोहोरो चरित्र देखिएको छ ।’

प्रवक्ता शर्माले बिहीवार बिहान सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले नेपाली कांग्रेसका नेता र कार्यकर्ता माथि झुठ्ठा मुद्दा लगाउने र हतोत्साहित गर्ने श्रृङ्खलाका रुपमा यो घटनालाई लिएको बताए ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अधिकारसम्पन्न गराउने गरी भ्रष्टाचार निवारण ऐन, ०५९ नेपाली कांग्रेसको नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरी पारित गरिरहँदा उहाँ त्यो मन्त्रिमण्डलको सदस्यका रुपमा पनि महत्वपूर्ण भूमिकामा हुनुहुन्थ्यो,’ प्रवक्ता शर्माले भने । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गलत ढंगले प्रभावित गरी राजनैतिक पूर्वाग्रहका साथ माघ २२ मा गच्छदारमाथि मुद्दा दायर गरिएको नेपाली कांग्रेसको निष्कर्ष रहेको बताए ।

प्रवक्ता शर्माले प्रधानमन्त्रीय प्रणालीमा मन्त्रिपरिषद्बाट भएको कुनै पनि निर्णयको पूर्ण जिम्मेवारी प्रधानमन्त्रीको हुने भन्दै मन्त्रिपरिषद्ले गरेको निर्णयमा प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिने र कुनै मन्त्रीमाथि त्यही निर्णयमा आधारित रहेर मुद्दा चलाउने कुरा आफैंमा वदनियतपूर्ण रहेको प्रष्ट रहेको उल्लेख गरे ।

‘प्रधानमन्त्रीको सहमतिवेगर न मन्त्रिपरिषद्मा कुनै प्रस्ताव आउन सक्छ न कुनै प्रस्ताव पारित हुन सक्छ भन्ने तथ्य निर्विवाद छ,’ शर्माले भने, ‘मन्त्रिपरिषदले गरेको निर्णयमा प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई उन्मुक्ति दिने काम बदनियतपूर्ण छ ।’ प्रवक्ता शर्माले बालुवाटार जग्गा प्रकरणको गहिरो छानबिनका लागि नेपाली कांग्रेससँगै सिंगो राष्ट्रले माग गर्दै आएको बताए ।

‘नेपाली कांग्रेस यो लगायतका अन्य सबै अनियमितता, अख्तियार दुरुपयोग र भ्रष्टाचारका प्रकरणहरुको गम्भीर र गहिरो अनुसन्धानका पक्षमा थियो र रहनेछ,’ उनले भने, ‘तर शुरुवात देखिनै सरकारको नियत आफ्नालाई जोगाउने र अरुलाई फसाउने देखियो । सरकारको त्यही नियतको प्रभाव र दवावमा अख्तियार पर्नु दुःखद छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्