कोरोना भाइरसको संक्रमणबाट २१३ को मृत्यु, विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा

Machchapuchchre

काठमाडौं । चीनमा नयाँ कोरोना भाइरसका कारण ज्यान गुमाउनेकाे खंख्या २ सय १३ पुगेकाे छ । कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकालिन घोषणा गरेको छ । कोरोना भाइरसको प्रकोप चीनसहित अन्य मुलकमा तीव्र गतिमा फैलन थालेपछि विश्वव्यापी रुपमा आपतकाल घोषणा गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले उक्त घोषणा गर्नुका पछाडि मुख्य कारण चीनबाहिर यसको अवस्थालाई लिएर भएको बताएका छन्। हाल उक्त सङ्क्रमण चीनबाहिर पनि फैलिसकेको छ। चीनबाहेक अन्यत्र नेपालसहित १८ देशमा ९८ जनामा सङ्क्रमण भएको पाइएको छ।

तर चीनबाहिर यसका कारण कसैको ज्यान गएको छैन। विश्व स्वास्थ्य सङ्गठनले कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकहरूमा यो भाइरस फैलिन सक्ने त्रास रहेको बताए। बीबीसीका स्वास्थ्य तथा विज्ञान संवाददाता जेम्स गालाहरका अनुसार अहिले ९९ प्रतिशत सङ्क्रमणका घटना चीनभित्र नै पाइएको र चीनले तिनलाई नियन्त्रण गर्नेमा डब्ल्यूएचओ विश्वस्त रहेको पाइएको छ।

तर कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकमा फैलिएमा अवस्था बदलिन सक्छ। त्यसैले उनी भन्छन्, “पछिल्लो घोषणापछि डब्ल्यूएचओले निम्न तथा मध्यम आय भएका मुलुकहरूमा सङ्क्रमणको निरीक्षण र नियन्त्रणमा उसले सघाउन सक्नेछ।” यो घोषणाको अर्थ अब सबै देशलाई सङ्क्रमण फैलिन रोक्न कडिकडाउ नियन्त्रणका उपाय अपनाउन आह्वान गरिएको जस्तै हो।

डब्ल्यूएचओले चीनले अपनाएका उपायको प्रशंसा गर्दै उसले सङ्क्रमण नियन्त्रण गर्न असाधारण उपाय अपनाइरहेको बताएको छ। जिनिभास्थित संवाददाता इमोजेन फोल्क्स भन्छिन्, “एक साताअगाडि १७ जनाको मृत्यु र ५०० जनामा रहेको सङ्क्रमण अहिले दशगुना धेरैको मृत्यु र ८,००० जनामा सङ्क्रमण पुगेको सन्दर्भमा डब्ल्यूएचओका सामु यो घोषणा गर्नुबाहेक अरू विकल्प थिएन।”

विदेशीको उद्धार
यसबीच सङ्क्रमणको केन्द्रमा रहेको वुहानबाट विदेशी नागरिक उद्धार गर्न विशेष चार्टर्ड गरिएका थप विमान शुक्रवार त्यहाँबाट उड्दैछन्। दुई सय ब्रिटिश नागरिक त्यहाँबाट प्रस्थान गर्नेछन्। उनीहरूलाई उत्तरी आयरल्यान्डको एक अस्पतालमा दुई साता अलग्याएर छुट्टै राखिनेछ।

दुई सयजना फ्रेन्च नागरिक बोकेको विमान भर्खरै त्यहाँबाट उडेको छ। फ्रान्समा उनीहरूलाई १४ दिनसम्म क्वारान्टीनमा राखिनेछ। करिब २०० अमेरिकीहरू हाल क्यालिफोर्नियाको सैनिक क्याम्पमा क्वारान्टीनमा बसेका छन्।

कैयौँ विमानसेवाले चीनतर्फका उडान सीमित पारेका छन् वा कटौती गरेका छन्। दुई सङ्क्रमणका घटना पाइएपछि इटलीले त्यस्ता सबै उडान स्थगित गरेको छ। अमेरिकामा मानिसबाट मानिसमा कोरोनाभाइरस सरेको पहिलो घटनाको पुष्टि गरिएको छ।

पहिले पनि भएका थिए यस्ता घोषणा
यसअघि डब्ल्यूएचओले विभिन्न सङ्क्रमणका घटनामा पाँच पटक विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो। स्वाइन फ्लू, २००९ – सन् २००९ मा फैलिएको एचवनएनवन (H1N1) भाइरसले दुई लाख मानिसको ज्यान लिएको थियो। विश्वले यसको गम्भीरतापूर्वक नियन्त्रण गर्न सकोस् भनेर स्वास्थ्य सङ्कटकाल घोषणा गरियो।

पोलियो, २०१४ – सन् २०१२ मा उन्मूलनको सँघारमा पुगेको पोलियोको सङ्क्रमण २०१३ मा बढ्यो। उन्मूलनको प्रयासमा धक्का लाग्न सक्ने ठानिएर सङ्कटकाल घोषणा गरियो। जिका, २०१६ – खासगरी दक्षिण र उत्तर अमेरिकी महादेशमा द्रुत गतिमा फैलिएपछि डब्ल्यूएचओले जनस्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो।

इबोला, २०१४ र २०१९ – यो सङ्क्रमणलाई लिएर दुई पटक सङ्कटकाल घोषणा गरिएको थियो। पहिलो सङ्क्रमण अवधिमा सन् २०१४ को अगस्टदेखि सन् २०१६ को मार्चसम्म पश्चिम अफ्रीकी देशहरूमा ३०,००० मानिस प्रभावित भए र ११,००० भन्दा धेरैको ज्यान गयो। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएपछि गत वर्ष पनि सङ्कटकाल घोषणा भयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्