सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक आजबाट, यस्तो छ कार्यसूची

Machchapuchchre

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक यही माघ २० गतेसम्म राष्ट्रिय सभागृहमा बस्ने जानकारी दिए ।

श्रेष्ठका अनुसार बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घाटन मन्तव्यपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने र सातै प्रदेशका अध्यक्षहरूले आ–आफ्नो प्रदेश कमिटिको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यसैगरी सममायिक प्रस्ताव र विविध विषयसमेत बैठकमा प्रस्तुत हुने बताइएको छ । प्रवक्ता श्रेष्ठका अनुसार समसामयिक प्रस्ताव अहिलेको राजनीतिक गतिविधिमा केन्द्रीत हुने छ । विसं २०७७ चैतको मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने स्थायी कमिटीले पेश गरेको प्रस्ताव केन्द्रीय कमिटीमा रहने उनले जानकारी दिए ।

पार्टी एकता भएको डेढ वर्षपछि बैठक हुन लागेको हो। नेकपाको गत मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो।

पार्टीको अन्तरिम विधान–२०७५ मा केन्द्रीय कमिटीको बैठक छ महिनामा एक पटक बस्ने व्यवस्था भए पनि डेढवर्षमा पहिलो पटक बस्न लागेको हो। विधानमा २५ प्रतिशत सदस्यले लिखित माग गरेका खण्डमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र बस्नुपर्ने व्यवस्था गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्