प्रदेश ५ मा राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेद्वार विजयी

Machchapuchchre

दाङ । प्रदेश ५ बाट राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका छन् । बिहीबार बेलुका सम्पन्न मत परिणाम अनुसार नेकपाबाट महिलातर्फ बिमला घिमिरे, अपांग तथा अल्पसंख्यकमा जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराई विजयी भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।

दाङको घोराहीमा सम्पन्न प्रदेश ५ को राष्ट्रियसभा सदस्य निर्वाचनमा विजयी नेकपाका उम्मेद्वारहरु बाँयाबाट क्रमशः जगप्रसाद शर्मा, गोपाल भट्टराई र विमला घिमिरे ।

अपांग/अल्पसंख्यक कोटाबाट शर्मा ५ हजार ४ सय २४ मतभारसहित विजयी भएका छन्। शर्माका प्रतिस्पर्धी नेपाली काँग्रेसका मेराज अहमद हलवाई १ हजार ९८६ मतभार प्राप्त गरेर पराजित भएका छन्। संघीय समाजबादी पार्टीका सुनिल सिंघलले ४२० मतभार प्राप्त गरेका छन्।

महिलातर्फ घिमिरे ५ हजार ७ सय ७८ मतभार ल्याएर विजयी भएकी छन्। नेपाली काँग्रेसकी गिरिजादेबी न्यौपाने २ हजार १ सय मतभारसहित पराजित भएकी छन्। अन्य समूहका भट्टराई ५ हजार ३ सय ८२ मत ल्याएर विजयी भएका छन्।

कांग्रेसका बालकृष्ण पाण्डे २ हजार ५२ मतभार प्राप्त गर्दा संघीय समाजवादीका कृष्णप्रसाद यादवले ४ सय ४४ र राष्ट्रिय जनमोर्चाका शिव पौडेलले १ सय ५६ मतभार प्राप्त गरेका छन्। प्रदेश ५ बाट तीन पदका लागि ९ जनाको उम्मेद्वारी परेको थियो।

निर्वाचनमा ३ सय ३ मत खसेको थियो। प्रदेशका १२ जिल्लाका १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १८ मध्ये १ सय १७ को मात्रै मत खसेको थियो। बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव मात्रै मतदानमा सहभागी हुन सकिनन्।

संघीय समाजवादी फोरमबाट निर्वाचित श्रीवास्तव आफन्त बिरामी भएर उपचारका लागि भारत गएकाले मतदानमा सहभागी हुन नसकेकी हुन्। यसैगरी प्रदेशसभा सदस्यहरु ८६ जनाले मतदान गरेका छन्। प्रदेशसभा सदस्य ८७ मध्ये बलदेव शर्माको हालै निधन भएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्