प्रचण्ड र देउवासँगको बैठकमा ओलीले भने – सत्य निरुपण र मेलमिलाप सजिलै हल हुन्छ

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी समस्या सजिलै हल हुन सक्ने बताएका छन् । पहिल्यै सम्पन्न गरिसक्नुपर्ने सहज कामलाई जटिल बनाइराख्न नहुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार भएको शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी कार्यलाई ‘कम्प्लिकेटेड’ बनाइराख्न नहुने बताए । प्रधानमन्त्रीकै भनाइलाई समर्थन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष प्रचण्डले पनि राजनीतिक विषय भएकाले यसलाई चाँडै हल गरिनुपर्ने बताए ।

‘हाम्रो सरोकार सत्य स्थापित गर्ने र मेलमिलाप गर्ने नै हो । हिजो के–के भएको थियो भनेर सत्य स्थापित गर्ने, अनि समाजमा मेलमिलाप कायम गर्ने हो, अति भएको रहेछ भने तिनमा मुद्दा चलाउने हो’ बालुवाटारको छलफलमा सहभागी एक नेताले प्रधानमन्त्रीको भनाइ उधृत गर्दै भने, ‘यति सजिलो र सरल कुरालाई किन कम्प्लिकेटेड बनाएको ? यत्रो वर्ष किन कुर्नुपर्थ्यो, यो त सजिलै हल गर्ने कुरा हो ।’

छलफलमा सहभागी नेताका अनुसार कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि यो विषय राजनीतिक भएकाले चाँडो हल गरिनुपर्ने बताए ।

देउवाको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘हिजो व्यक्ति लडेको होइन, प्रचण्डजीले सुप्रिम कमाण्डर भएर उताबाट आदेश दिनुभयो, मैले प्रधानमन्त्री भएर सरकारको नेतृत्व गरिराखेको थिएँ । यो त पोलिटिकल कुरा हो, यत्रो कुरा मिलाएर हामी यहाँसम्म आइसक्यौं, अब यो कुरा बाँकी राखिरहनुहुँदैन ।’

बालवाटारमा ऐन संशोधनमा सकारात्मक छलफल भए पनि आयोगका पदाधिकारी चयनका विषयमा भने सहमति जुटन् बाँकी रहेको सहभागी नेताले बताएका छन् । करिब एक वर्षदेखि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी आयोगहरु पदाधिकारीविहीन छन् ।

आयोग गठनमा दलहरुवीच भागवण्डा मिल्न सकेको छैन । सत्य निरुपणसम्बन्धी कानूनसमेत विवादित छ । विवादकै कारण अहिलेसम्म पीडितहरुको चित्त बुझ्ने गरी कानून संशोधन हुन सकेको छैन । सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी ऐन संशोधन गर्दा पीडितको सुझाव अपरिहार्य छ भन्ने अन्तरराष्ट्रिय समुदायले चासो राख्दै आएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्