वैदेशिक मुद्रा सञ्चिति तथा रेमिट्यान्समा उच्च वृद्धि

Machchapuchchre Bank

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले नेपालको बाह्य क्षेत्र मजबुत बन्दै गएको संकेत गरेको छ । आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म देशको कुल विदेशी मुद्रा सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड रुपियाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार हालको सञ्चितिले देशको आयात क्षमताका आधारमा करिब १८.५ महिनासम्म वस्तु तथा सेवा आयात धान्न सक्छ। यदि केवल वस्तु आयातलाई मात्र आधार मान्ने हो भने यो सञ्चिति २१.४ महिनासम्म पर्याप्त रहने देखिएको छ । अमेरिकी डलरमा हेर्दा पनि विदेशी मुद्रा सञ्चितिमा उल्लेखनीय वृद्धि भएको छ। गत असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेको सञ्चिति फागुनसम्म आइपुग्दा १८.३ प्रतिशतले बढेर २३ अर्ब ८ करोड डलर पुगेको छ। कुल सञ्चितिमध्ये ३० खर्ब ३५ अर्ब ११ करोड रुपैयाँ राष्ट्र बैंकमै रहेको छ भने बाँकी ३ खर्ब ७८ अर्ब ६६ करोड रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थामा रहेको छ।

सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१ प्रतिशत रहेको छ। विप्रेषण आयमा भएको उल्लेखनीय वृद्धि पनि विदेशी मुद्रा सञ्चिति मजबुत बन्नुको प्रमुख कारण मानिएको छ। समीक्षा अवधिमा विप्रेषण ३७.७ प्रतिशतले बढेर १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै फागुनसम्म नेपालको चालु खाता उल्लेखनीय बचतमा रहेको छ। तथ्यांकअनुसार चालु खाता ५५२ अर्ब ८५ करोड रुपियाँले बचतमा छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा धेरै उच्च हो । अमेरिकी डलरमा पनि चालु खाता ३ अर्ब ८८ करोड डलरले बचतमा रहेको छ। त्यस्तै, शोधनान्तर स्थिति पनि मजबुत बनेको छ । समीक्षा अवधिमा ६५८ अर्ब ३५ करोड रुपैयाँ बचतमा रहेको शोधनान्तर स्थिति अघिल्लो वर्षको तुलनामा करिब दोब्बरले बढेको हो । अमेरिकी डलरमा यो ४ अर्ब ६१ करोड पुगेको छ । साथै खुद पुँजीगत ट्रान्सफर १२ अर्ब ५९ करोड रुपियाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर हो। प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) पनि बढ्दो क्रममा देखिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्