Artharajniti ~ झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले बाचा पत्र ल्याएका छन् । उनले केपी शर्मा ओलीको पहलमा दमकमा निर्माण गरिएको भ्युटावर सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ओलीविरुद्ध प्रतिस्पर्धामा उत्रिएका बालेनको बाचापत्रमा लेखिएको छ, ‘दमक सभागृह र भ्यूटावर लगायतका योजनाहरु उच्चतम नागरिक उपयोगीता हुने गरी सञ्चालनमा ल्याइनेछ ।’करोडौं लगानी गरेर बनाइएको भ्युटावर लामो समय सञ्चालनमा नआउँदा यो ओलीको आलोचनाको विषय बन्ने गरेको छ ।बालेनले सोमबार सार्वजनिक गरेको बाचापत्रमा संविधानको परिपालना गर्दै संविधानले निर्दिष्ट गरेका दायित्वहरू निष्ठापूर्वक सम्पन्न गर्न तथा हाल कार्यान्वयनमा रहेका कार्यहरुलाई कानुनी रूपमा सहज, स्पष्ट साथै नागरिक मैत्री बनाउन आवश्यक कानुन निर्माण, संशोधन तथा परिमार्जनका लागि संघीय संसदमा सक्रिय तथा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पहिलो प्रतिबद्धता जनाएका छन् ।
उनी थप्छन्, ‘राष्ट्रहित विपरीत कुनै पनि सम्झौता गर्ने छैन । सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नेछु । विकाससँगै प्रकृति संरक्षणमा विशेष ध्यान दिनेछु ।’ निर्वाचन क्षेत्रलाई नभुल्ने प्रतिबद्धता उनले पटक–पटक गरेका छन् । ‘झापा क्षेत्र नं. ५ मा व्यवस्थित संसद सचिवालय स्थापना गरी स्थानीय सरोकारलाई सम्बोधन गर्नेछ,’ उनले भनेका छन् ।राजनीतिलाई पेशा होइन सेवा बनाउने उनको संकल्प छ । उनी थप्छन्, ‘मतमा अभिव्यक्त नागरिकको विश्वासलाई काममा रुपान्तरण गर्नेछु, मेरो राजनीति सेवा, इमानदारीता र परिणाममा आधारित हुनेछ ।’स्थानीय तह र प्रदेश सरकारको अधिकारकाा लागि काम गर्ने अर्को प्रतिबद्धता छ । ‘स्थानीय तथा प्रदेश सरकारलाई संवैधानिक अधिकारको प्रत्यायोजन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भएमा स्थानीय, प्रदेश र संघीय सरकारको समन्वय तथा सहकार्यमा निम्न कार्यहरु पाँच वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ बाचापत्रमा लेखिएको छ ।शिक्षामा काम गर्ने उनको प्रतिबद्धता छ । ‘गरिब तथा विपन्न परिवारका बालबालिकाले पनि गुणस्तरीय शिक्षा पाउनु पर्ने अधिकार व्यवहारमै सुनिश्चित गरिनेछ,’ बालेनको बाचापत्रमा लेखिएको छ, ‘काठमाडौं महानगरमा लागू भएजस्तै शिक्षामा सीप कार्यक्रम कार्यान्वयन गरी विद्यार्थीहरुको विदेश जान पर्ने बाध्यतालाई न्यूनीकरण गरिनेछ ।’झापामा समेत शिक्षाको क्षेत्रमा काम गर्ने उनले बताएका छन् । ‘गौरीगञ्जस्थित ऐतिहासिक त्रिभुवन पुस्तकालय पुनर्निर्माण गरी डिजिटल अध्ययन अनुसन्धान केन्द्रका रुपमा सञ्चालन गरिनेछ, कोशी आयुर्वेद प्रतिष्ठान स्थापना गरी प्रादेशिक आयुर्वेद अस्पताल, कमल (लखनपुर) लाई सो मातहत संचालन गरिनेछ,’ उनले भनेका छन् ।
दमक बहुप्राविधिक शिक्षालयको भवन निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने बालेनको प्रतिबद्धता छ ।सामुदायिक विद्यालयमा स्मार्ट कक्षा, प्रयोगशाला (ल्याब) र पुस्तकालय स्थापना तथा उच्च शिक्षाको स्तरोन्नति गर्ने बताएका छन् । विद्यालय छाड्ने दर शून्यमा झार्ने उनको संकल्प छ । फरक क्षमता भएका बालबालिकाकालागि शैक्षिक कार्यक्रम कार्यन्वयन गर्न आवश्यक नीतिगत सुधार गर्ने नीति लिने बाचा गरेका छन् ।‘विद्यालयको पाठ्यक्रममा स्थानीय भाषा र लिपीलाइ प्रारम्भिक शिक्षा देखि नै समावेश गर्न पहल गरिनेछ,’ उनले भनेका छन्, ‘दमक १० स्थित साइन्स पार्कलाई थप व्यवस्थित गरी सञ्चालनमा ल्याइनेछ ।’यसबाहेक पनि झापा केन्द्रित बालेनका प्रतिवद्धताहरू छन् । जसमा दमक सभागृह र भ्यूटावर लगायतका योजनाहरु उच्चतम नागरिक उपयोगीता हुने गरी सञ्चालनमा ल्याउने लगायत रहेका छन् ।



