असन्तुष्ट जिल्ला सभापतिहरुको भेला सकिएलगत्तै देउवाले दिए ‘ब्रेकफास्ट’ मिटिङको निम्तो

Machchapuchchre

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुसँग छलफल गर्ने भएका छन् । सोमबारदेखि पार्टी कार्यालय सानेमा भेला भएका संस्थापन इतरका जिल्ला सभापतिहरुलाई सभापति देउवाले विहीवार(भोलि) भेटघाटका लागि बोलाएका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल–कृष्ण सिटौला समूहका जिल्ला सभापतिहरुलाई देउवाले छलफलका लागि बूढानिलकण्ठस्थित निवासमा बोलाएका हुन् । ‘सभापति ज्यूले जिल्ला सभापतिहरुलाई छलफलका लागि बोलाउनु भएको छ’ नेपाली कांग्रेस काभ्रे जिल्ला अध्यक्ष मधु आचार्यले भने,‘भोलि विहान बूढानिलकण्ठस्थित देउवा निवासमा ‘ब्रेकफास्ट’ सहितको भेटघाट र छलफलको कार्यक्रम रहेको छ ।’

देउवा निकटका नेता डा प्रकाशशरण महतले विहीवार विहान बूढानिलकण्ठमा ३७ जना जिल्लासभापतिहरुलाई चियापानका लागि बोलाएको जानकारी दिए । ‘राजधानीमा भेला हुनु भएका ३७ जिल्लाका सभापतिहरुलाई पार्टी सभापितले चियापानका लागि बुढानिलकण्ठमा बोलाउनु भएको छ’ डा महतले भने ।

सोमबारबाट सुरु भएको असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला बुधवार समापन भएको छ । एकलौटी ढंगले महाधिवेशन घोषणा र विधान मिच्ने काम देउवाले गरेको भन्दै पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका नेता, केन्द्रीय सदस्य र जिल्ला सभापतिले निर्णय सच्याउनु पर्ने माग राखेका छन् ।

देउवालाई दबाब दिनका लागि ४५ भन्दा बढी जिल्ला सभापतिहरू सानेपामा भेला भएका थिए । आयोजकले भने ५१ जिल्लाका सभापतिहरु भेला भएको दाबी गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्