कांग्रेसमा चुलियो कलह

Machchapuchchre Bank

Artharajniti ~  नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अन्ततः विशेष महाधिवेशन आह्वान गर्ने निष्कर्षमा पुगेका छन् । नियमित महाधिवेशनको लागि तोकिएको अवधि पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन हुन नसक्ने निश्चित भएसँगै गगन-विश्व विशेष महाधिवेशन बोलाउने निष्कर्षमा पुगेका हुन् । बिहीबार दुई महामन्त्रीले वक्तव्य निकालेर विशेष महाधिवेशन आव्हान गर्नुपरेको कारण समेत बताएका छन् । पुस २६ गते नियमित महाधिवेशनको कार्यतालिका परिमार्जन गरी गति दिन नसकिएको कारण सम्पूर्ण कार्यतालिका प्रभावित भई निष्प्रभावी बन्न पुगेको उल्लेख गरेका छन् । पार्टीभित्र अन्योल र अनिश्चिततालाई अन्त्य गर्न वक्तव्य जारी गर्न बाध्य भएको जनाएका छन् ।२७ पुसदेखि २९ गतेसम्म विशेष महाधिवेशन गर्ने गरी मागकर्ताहरूले तयारीमा तिव्रता दिएका छन् । विशेष महाधिवेशनका लागि स्थान भृकुटीमण्डप तय गरिएको छ । विशेष महाधिवेशनका लागि अगुवाइ गरेका केन्द्रीय सदस्य मधु आचार्यका अनुसार महाधिवेशन सम्पन्न गर्नका लागि तयारी समितिहरू गठन गर्ने तयारी भएको छ । विशेष महाधिवेशन पक्ष नेताहरूका अनुसार, महामन्त्री थापाले महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदन लेखनको तयारी सुरु गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशनबारे जानकारी गराउने पक्षधर नेताहरूले जानकारी गराएका छन् ।

कांग्रेसको विधान अनुसार केन्द्रीय समितिले विशेष महाधिवेशनको आवश्यकता ठानेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेको अवस्थामा आह्वान गर्नुपर्ने अवस्था छ । लिखित प्रस्ताव अनुसार केन्द्रीय समितिले विशेष महाधिवेशन आव्हान गर्नका लागि पक्षधरले आग्रह गर्दै आएका थिए । केन्द्रीय समिति आव्हान गर्ने परिस्थिति नदेखेसँगै महामन्त्रीहरूले बोलाउन लागेका हुन् दुई महामन्त्री गगन–विश्वप्रकाशले शुक्रबार सभापति शेरबहादुर देउवालाई पत्र लेखेर आह्वान गर्न साथै अध्यक्षता गर्न अनुरोध गर्ने भएका छन् । विशेष महाधिवेशनका मागकर्ता मध्येका एक अगुवा नेताले भने, ‘भोलि महामन्त्रीहरूले सभापतिलाई पत्र लेखेर आह्वान गर्न माग स्मरण गराउनु हुन्छ । सभापतिले आह्वान नगरे लगत्तै महामन्त्रीहरूले बोलाउनुहुन्छ ।’ सभापतिले आव्हान नगरेपछि विधानले विशेष महाधिवेशन बोलाउन महामन्त्रीलाई अधिकार दिएको कानुनविद्हरुले यसअघि मागकर्ताहरूलाई जानकारी गराइसकेका छन् । केन्द्रीय कार्यालय महामन्त्री मातहतमा रहने विधानको व्यवस्था छ । विशेष महाधिवेशनको मागलाई केन्द्रले बोलाउन् सक्ने व्यवस्था, केन्द्र भनेको केन्द्रीय कार्यालय हुने र उक्त कार्यालय महामन्त्री मातहत हुने हुँदा विशेष महाधिवेशन महामन्त्रीले बोलाउन सक्ने परामर्श कानुनविद्ले दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्