बैंकहरूले पुसका लागि थप घटाए ब्याजदर

Machchapuchchre Bank

Artharajniti  ~   नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर घटाएसँगै बैंकहरूले पुसका लागि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको अवस्थासँगै नीतिगत दर घटेपछि बैंकहरूको ब्याजदर थप घटेको हो । राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत नीतिगत दर ४.५० प्रतिशतबाट ४.२५ मा झारेको थियो । यसले ब्याजदर थप घटाउन दबाब पुगेपछि बैंकहरूले पुस महिनाका लागि सार्वजनिक गरेको ब्याजदर मंसिरको तुलनामा घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा मंसिरको तुलनामा पुसमा ०.२० प्रतिशत विन्दुले झरेको छ । मंसिरमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ५.०४०५ प्रतिशत थियो भने यो पुसमा ४.८३४ प्रतिशतमा झरेको हो व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज पनि घट्न जान्छ । जब निक्षेपको ब्याजदर घट्छ, त्यसले आधार दर घट्न गई कर्जाको ब्याजदर स्वतः घट्छ ।व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशतभन्दा तल कायम भएको छ । मंसिरमा व्यक्तिगत मुद्दतीमा अधिकतम ६ प्रतिशत ब्याजदर दिएको ग्लोबल आईएमई बैंकले पुसमा अधिकतम जम्मा ५.५ प्रतिशत कायम गरेको छ ।

मंसिरको तुलनामा पुसमा १३ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ७ ले स्थिर राखेका छन् । अधिकांशले ब्याजदर घटाएसँगै औसतमा घटेको हो । ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, प्रभु, स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, प्राइम कमर्सियल, कुमारी, सानिमा र एसबीआई छन् । त्यस्तै स्थिर राखेकामा माछापुच्छ्रे, एनआईसी एसिया, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी र सिटिजन्स बैंक छन् । छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह हुन नसक्दा ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बैंकको पैसा खिच्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्