कोशीमा हर्क र कुलमान प्रभाव : एमालेको ‘गढ’मा नयाँ दलको काउन्टर

Machchapuchchre Bank

Artharajniti  ~  जेनजी आन्दोलनपछि परम्परागत दलहरूको वर्चस्वमाथि गम्भीर प्रश्न उठिरहेका बेला आगामी फागुन २१ मा निर्वाचन भए यो जनमतमा निकै फेरबदल हुने सम्भावना छ । लामो समयदेखि सत्ताको बागडोर सम्हालेका एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रजस्ता दलहरूको ‘भोट बैंक’ खल्बलिएको छ, जसको प्रत्यक्ष फाइदा नयाँ र वैकल्पिक शक्तिहरूले उठाउने देखिन्छ । कोशी प्रदेशमा पहिचानको आन्दोलनदेखि स्वतन्त्र अभियानसम्मले नयाँ राजनीतिक दलहरूलाई जन्म दिएका छन् । हर्क साम्पाङको श्रम संस्कृति पार्टी, कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र योगी मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टीहरू परम्परागत ठुला पार्टीलाई टाउको दुखाइ बनेका छन् । यद्यपि यी तीन प्रमुख नयाँ शक्तिहरूले फरक–फरक वैचारिक धरातलमा आफ्नो राजनीति अघि बढाएका छन् । धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा बनेको श्रम संस्कृति पार्टीको मूल मन्त्र ‘हर्कवाद’ हो, जसले श्रम, उत्पादन र निर्माणलाई केन्द्रमा राख्छ । पार्टीका प्रवक्ता सत्य घलेका अनुसार उनीहरू पहिचानवादी नभई ‘संस्कृतिवादी’ हुन् र सबै संस्कृतिलाई सम्मान गर्छन् ।

उनीहरूको अभियान सत्ता प्राप्तिको लागि मात्र नभएर देशव्यापी रूपमा श्रमको संस्कृति स्थापना गर्ने ‘महाअभियान’ हो । ‘चुनावमा जानुपर्ने बाध्यताले मात्र पार्टी दर्ता गरिएको हो, हाम्रो मुख्य उद्देश्य श्रमदान अभियानलाई देशव्यापी बनाउनु हो,’ घलेले भने । कुलमान घिसिङको राष्ट्रिय छविलाई आधार बनाएर गठन भएको उज्यालो नेपाल पार्टीले आफूलाई संघीयता, लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक प्रतिनिधित्वको पक्षधरका रूपमा उभ्याएको छ । पार्टीका केन्द्रीय सदस्य डकेन्द्र सिं थेगिमका अनुसार यी सिद्धान्तहरूले नै पहिचानको मुद्दालाई समेट्छन् । ‘लिम्बुवान, खम्बुवानजस्ता जातीय नाममा पार्टी खोलिराख्नु आवश्यक छैन । पहिचानको मुद्दालाई गलत तरिकाले बुझिएको छ,’ उनले भने । उनी कोशी प्रदेश नामाकरणको विरोधमा भएको आन्दोलनका संयोजकसमेत थिए । उनीसहित कुलमानको पार्टीमा पहिचानवादी डाक्टर महेन्द्र लावतीहरूसमेत संलग्न छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्