Artharajniti ~ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भदौ २३ गते जेनजी पुस्ताले आन्दोलन गर्नु र देशको राजनीति नयाँ मोड पुग्नुमा पाँच वटा कारणको प्रमुख भूमिका रहेको औँल्याएको छ । शुक्रबार चितवनमा सुरु भएको रास्वपा केन्द्रीय समितिको विस्तारित बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन पेस गर्दै ती पाँच विषयबारे चर्चा गरेका छन् । दुई ठुला दल नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकारले नागरिकका जायज आवाजसमेत नसुनी तिनको स्वतन्त्रता खुम्च्याएर लोकतन्त्रको आवरणमा नभएर दलीयकरण र निरंकुशता लाद्ने प्रयत्न गरेपछि बढेको आक्रोश जेनजीको नाममा विस्फोट भएको अर्यालको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।
जेनजी आन्दोलनको कारक रहेका पाँच विषय
पहिलो कारक : ‘बारम्बार सरकार परिवर्तन हुँदा नीतिगत स्थिरता भएन र विकास निर्माणमा बाधा पुग्यो । जनताको अपेक्षा अधुरै रहे । सत्ताको कुरा भए । सरकारको कुरा गरिए, तर जनताको कुरै भएन । यस्तै, दोस्रो : पुराना दलहरूले सरकारको नेतृत्व गर्दाका ठुला–ठुला भ्रष्टाचार काण्ड बाहिर आए पनि प्रभावकारी छानबिन नभएका कारण असन्तुष्टि चुलिएको चर्चा गरेका छन् । त्यस्ता काण्डमा संलग्नलाई कारबाही नहुनु वा राजनीतिक प्रभावमा परेर उन्मुक्ति पाउनुले दण्डहीनतालाई प्रश्रय दिएको उल्लेख गर्दै अर्यालले आफ्नो प्रतिवेदनमा भनेका छन् । तेस्रो बुँदा : पुराना दलहरूको नेतृत्वमा रहेका सरकारले सुशासन कायम र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन नसकेको विषय समेटेका छन् । चौथो बुँदा : पुराना दलहरूले परम्परागत राजनीतिक शैलीलाई नै निरन्तरता दिएको चर्चा गर्दै गुटबन्दी, नातावाद, कृपावाद हावी भएको उल्लेख गरेका छन् । पाँचौँ बुँदा : कार्यवाहक सभापति अर्यालले दशकौँको शासनकालमा पनि पुराना दल नेतृत्वको सरकारले देशभित्र पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न नसकेको विषय उल्लेख गर्दै यसलाई पनि जनतामा निराशा बढाउने कारकका रूपमा चित्रण गरेका छन् ।
‘युवा पुस्ताले आफ्ना अग्रज र समकालीनले पढाइ सकेर पनि देशमा भविष्य नदेखेर विदेशिएको देखे । शासकहरूले अफ्नो भविष्य बर्बाद पारे भन्ने तीव्र असन्तुष्टिले उनीहरू परिवर्तनको हिस्सामात्र होइन, निर्णायक शक्ति नै बन्न अगाडि सर्दा जेनजी आन्दोलन भयो,’ अर्यालले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ ।



