Artharajniti ~ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट सत्ता छाडेर नेपाली सेनाको ब्यारेकबाट बाहिर निस्किएका निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक प्रदेश र जिल्ला अध्यक्षहरूसँग बैठक गरेका छन् । जेनजी आन्दोलन र त्यसपछाडिको अवस्थाबारे बैठकमा प्रदेश र जिल्लाका अध्यक्ष तथा इन्चार्जहरूले सवाल उठाए भने र नेतृत्व हस्तान्तरणको बहस उठाएको जेनजी र आन्दोलनलाई समेत सम्बोधन गर्नुपर्ने धारणा राखे । प्रदेश र जिल्ला अध्यक्ष तथा दुवै तहका इन्चार्जहरूको भनाइ तथा सुझाव सुनेपछि ओलीले अहिलेकै परिस्थितिमा नेतृत्व नछाड्ने प्रष्ट संकेत गरेका छन् । उनले नेतृत्व पनि नछाड्ने र संसद भंग गरेर बनेको अन्तरिम सरकारकाविरुद्ध अदालत जाने संकेत गरेका हुन् । ओलीले संसद पुनर्स्थापनाको माग गर्नेबारे नेपाली कांग्रेससँग छलफल गर्ने बताएका छन् भने जेनजी आन्दोलनलाई विदेशी हस्ताक्षेप र अन्य शक्तिहरूको चलखेल नै भएको दोहोर्याएका छन् । अध्यक्ष ओलीले अहिले नेतृत्वको प्रश्न उठाउने बेला नभएर पार्टीलाई एकताबद्ध र सशक्त गराउनुपर्ने बेला भएको जिकिर गरेका छन् । उनले पार्टीको नेतृत्वमा रहेर नगर्नुपर्ने काम, पार्टीको विचार र दृष्टिकोणको शिर झुकाउने काम नगरेको बताउँदै नेतृत्व नछाड्ने प्रष्ट रुपमा संकेत गरेका हुन् । उनले सक्दासम्म नेतृत्व र पार्टीको हितमा काम गर्न नछाड्ने संकेत गरेका छन् ।
तत्काल नेतृत्व छाड्ने मनस्थितिमा छैनन् ओली
