Artharajniti ~ जेठ र असार महिनामा स्थिरजस्तै रहेको ब्याजदर साउन महिनाका लागि फेरि घटेको छ । नेपाल राष्ट्र बैंकको दबाबपछि अधिकांश बैंकहरूले साउन महिनाका लागि घटाएर निक्षेप ब्याजदर सार्वजनिक गरेका छन् । राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दरलाई ५ बाट ४.५ प्रतिशतमा झारेको घोषणा गर्यो । त्यस्तै स्थायी तरलता सुविधा दर ६.५ बाट ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर ३ बाट २.७५ प्रतिशतमा झारियो । यसले बैंकहरूलाई ब्याजदर घटाउनका लागि दबाब पुग्यो । त्यति मात्रै नभई असार महिना पूँजीगत खर्च बढी हुने महिना हो । वर्षभरिको कुल पूँजीगत खर्चमा असार महिनामा मात्रै ३२ प्रतिशत खर्च भएको छ । यसले पनि ब्याजदर थप घट्न गएको बैंकर बताउँछन् । असारको तुलनामा साउनमा १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ४ ले स्थिर राखेका छन् । त्यस्तै २ बैंकले भने बढाएका छन् ।
बैंकहरूले बुधबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार असारको तुलनामा साउनमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.२१५ प्रतिशत विन्दुले घटेको छ । असार महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.९०२ प्रतिशत रहेकोमा साउन महिनाको लागि यो ५.६८७ मा कायम भएको छ । असारको तुलनामा साउनमा १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ४ ले स्थिर राखेका छन् । त्यस्तै २ बैंकले भने बढाएका छन् । हिमालयनले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ०.५ प्रतिशत विन्दुले बढाएको छ भने स्टान्डर्ड चार्टर्डले जम्मा ०.०१ प्रतिशत विन्दुले बढाएको छ । छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । व्यक्तिगत मुद्दतीमा बैंकहरुले तोकेको अधिकतम ब्याजदर लामो अवधिका लागि हो । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा कर्जाको ब्याज पनि स्वतः घट्न जान्छ । बैंकहरुबाट पर्याप्त कर्जा जान नसक्दा नेपाल राष्ट्र बैंकमा प्रणालीको ७ खर्ब रुपैयाँ थन्किएको छ ।